स्वास्थ्य पुनःस्थापना केन्द्र नहुँदा दुर्घटनामा अङ्गभङ्ग भएका बिरामीको उपचारमा समस्या

 फागुन ३०, २०८० बुधबार १२:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय स्तरको स्वास्थ्य पुनःस्थापना केन्द्र नहुँदा दुर्घटनामा अङ्गभङ्ग भएका बिरामीको उपचारमा समस्या देखिएको छ । मुख्य गरी दुर्घटनामा परेर अङ्गभङ्ग भएकाहरुको उपचारसँगै शारीरिक व्यायाम अभ्यास गराएर गराइने उपचारमा समस्या देखिएको हो ।

सरकारको आफ्नो पुनःस्थापना केन्द्र नभएकोले बिरामीले निजी पुनस्थापना केन्द्रमा महँगोमा उपचार गराउन बाध्य छन् । स्पाइन इन्जुरी, हेड इन्जुरी, क्यान्सर, हड्डीको बिरामीले अस्पतालको उपचारपछि पनि तोकिएको व्यायाम र थेरापी गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेण्डेन्ट डा. बद्रि रिजालका अनुसार यस्तो उपचार डाक्टरको निगरानीमा वा सल्लाहमा पुनःस्थापना केन्द्रमा राखेर गराउँदा बिरामी छिटो निको हुन्छ । तर अहिलेसम्म नेपालमा सरकारी स्तरमा पुनःस्थापना केन्द्र नरहेको उहाँ बताउनुहुन्छ ।

बिरामीले निजी स्वास्थ्य संस्थामा महंगो रकम तिरेर उपचार गराउनुपर्ने बाध्यता छ । सरकारले छिटो भन्दा छिटो पुनःस्थापना केन्द्र निर्माण गर्नुपर्ने डा. रिजालले बताउनुभयो । दुर्घटना परेपछि आकस्मिक उपचारपछिका बिरामीले पहिलाकै अवस्थामा फर्कन वा जीवनशैलीलाई सहज बनाउन विभिन्न प्रकारको व्यायाम र थेरापी गर्नुपर्ने हुन्छ ।

यो लामो समय लाग्ने उपचारको प्रक्रिया हो । अहिलेसम्म सरकारको आफ्नो छुट्टै पुनःस्थापना केन्द्र छैन । ललितपुरको गोदावरी नगरपालिकाले पुनःस्थापना केन्द्र निर्माणमा चासो देखाएको छ ।

स्वास्थ्य सेवा विभागको तथ्याङ्कअनुसार ०७९/०८० मा गाडी दुर्घटनामा परेका एक लाख एक हजार ९ सय ४७ घाइते अस्पताल पुगेका छन् । विभागको तथ्याङ्कअनुसार ९४ हजार ६ सय ६५ घाइते अस्पतालको ओपिडी र गम्भीर घाइते भएका सात हजार दुई सय ८२ इमर्जेन्सीमा पुगेका छन् । ०७९/०८० मा दुई हजार आठ सय ८३ जनाले दुर्घटनामा ज्यान गुमाएको तथ्याङ्क छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया