चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि गैँडा स्थानान्तरण

 फागुन ३०, २०८० बुधबार १२:२२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ –  चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि गैँडाको आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरणको प्रकृया शुरु हुन सकेको थिएन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार गैँडा आन्तरिक स्थानान्तरण कार्यदलको यसअघि बैठक बसेर आजदेखि काम शुरु गर्ने निर्णय भएको थियो । निकुञ्जकै हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायत जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिनेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो ।

आठ वर्षदेखि माथि र २० वर्षभन्दामुनिका गैँडालाई स्थानान्तरण गरिने छ । आज बिहान वनदेवीको पूजा गरेर काम शुरु गर्ने तयारी छ । गैँडा स्थानान्तरणका लागि प्रमुख संरक्षण अधिकृतको नेतृत्वमा स्थलगत कार्यदल बनेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ ‘इकोलोजिस्ट’ श्याम शाहको नेतृत्वमा प्राविधिक टोली निकुञ्ज पुगेको छ । विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएलका प्रतिनिधिहरु निकुञ्जमा पुगेका छन् ।

गैँडा निकुञ्जको पश्चिम क्षेत्रको भित्री ‘कोर’ क्षेत्रमा र नवलपुरबाट पूर्वी क्षेत्रको भित्री भागमा स्थानान्तरण गरिनेछ । निकुञ्जबाहिर बस्तीमा आएर दुःख दिएका गैँडालाई स्थानान्तरणमा प्राथमिकता दिइनेछ ।स्थानान्तरण गर्दा भालेपोथीको अनुपात पनि मिलाइनेछ । दुई वर्षअघि विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो ।

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा छन् जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ गैँडा छन् भने पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन्।२०७४ सालमा बाढीका कारण धेरै गैँडा बगेर भारत पुगेका थिए । केही गैँडा उद्धार गरी फिर्ता ल्याए पनि अरू केही ल्याउन सकिएको थिएन । त्यही समयमा पूर्वका गैँडा बगेर पश्चिम पुगेका थिए ।

एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्छ । घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्वतर्फ लैजान लागिएको हो । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाने तर बासस्थानको व्यवस्थापन सङ्ख्याका आधारमा गर्न नसक्दा समस्या देखिएको छ । वरिष्ठ इकोलोजिस्ट शाहले एकै ठाउँमा धेरै गैँडा भएकाले स्थानान्तरण गरी घनत्व मिलाउन लागिएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया