न्यायिक सिकाइ अवलोकन भ्रमणका लागि सिदिङ्वा गाउँपालिकाका अधिकारी काठमाण्डौमा

 फागुन ३०, २०८० बुधबार १६:४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले स्थानीय विवाद निरूपणका लागि न्यायिक समितिसँगै मेलमिलापकर्ताको संयुक्त प्रयास हुनुपर्ने बताउनुभएको छ ।

महानगरपालिकाले न्यायिक निरूपणका लागि अवलम्बन गरेको अभ्यास र सिकाइ बुझ्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाबाट आएका न्यायिक समिति सदस्य र मेलमिलापकर्ताको टोलीसँग आफ्ना अभ्यासका बारेमा जानकारी गराउँदै उपमेयर डङ्गोलले यस्तो बताउनुभएको हो ।

उहाँले ठाउँ, भूगोल, सामाजिक तथा सांस्कृतिक अवस्थाअनुसार विवादका प्रकृति फरक हुन सक्ने भए पनि मेलमिलाप गराउने पद्धति साझा हुन सक्ने बताउनुभयो । उपमेयर डङ्गोलले वडामा विवाद दर्ता गर्ने प्रणाली, महिला सञ्जालमा मेलमिलापकर्ताबाट मेलमिलाप गराउने प्रणाली, निःशुल्क कानुनी सेवाको अभ्यास गरेको बताउनुभयो ।

भेटमा सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कँडरियाले आफूहरूले पनि वडामै विवाद दर्ता गराउन चाहेको र यो सोचलाई महानगरको अभ्यासले सहयोग गरेको बताउनुभयो ।

महानगरको न्यायिक समिति सदस्य एवम् वडा नम्बर २९ का अध्यक्ष कुश ढकालले वडामै विवाद समाधान हुने गरेका कारण केन्द्र र जिल्ला अदालतमा कम मुद्दा पुग्ने गरेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया