कुवेतमा गाडीले ठक्कर दिँदा तीनजना नेपालीको ज्यान गयो

 चैत १, २०८० बिहिबार ११:१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कुवेतमा गाडीले ठक्कर दिँदा तीनजना नेपाली नागरिकको ज्यान गएको छ । रमदान पर्वको पहिलो दिन सोमवार महाबुल्ला क्षेत्रको सिसाईड सडकमा एउटा कारले ठक्कर दिँदा तीन जनाको ज्यान गएको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल ठकुरीले बताउनुभएको छ ।

ज्यान गुमाउनेमा काठमाण्डौको सानो भर्‍याङका सुजन कार्की, अछामको पञ्चदेवलका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका छन । मृतकहरु कुवेतको पापाजोन कम्पनीमा कार्यरत थिए । सुजन र धिरज सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । तीनैजना फर्कने क्रममा त्यहाँको स्थानीय नागरिकको गाडीले ठक्कर दिँदा घटनास्थलमै उनीहरुको ज्यान गएको हो ।

अरब न्युजले भने ज्यान गुमाउनेमा दुई जना नेपाली रहेको र एकजनाको परिचय खुल्न नसकेको उल्लेख गरेको छ । गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले मृतकका परिवार तथा कम्पनीसँग सम्पर्कमा रहेको र आवश्यक प्रकृया पूरा गरेर शवहरु नेपाल पठाउने तथा बीमाको लागि पहल गर्ने बताउनुभएको छ । रमदानको बेला कुवेतमा धेरै दुर्घटना हुने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया