स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त
चैत १२, २०८१ मंगलबार
अवस्था हेर्दा दुई/चार जना बाहेक सबै नेपाली दुःखी हुनुपर्ने हो तर अनुहार हेर्दा दुई/चार जना बाहेक सबै खुशी देखिँदा रहेछन् । संसारभरको खुशी नाप्ने मिटरले पनि त्यही देखायो । दक्षिण एशियाभरका मान्छेलाई नजिकबाट नियाल्दा नेपालमा बस्नेहरू सबैभन्दा बढी खुशी देखिए ! नाप्ने मिटरको सुई बिग्रिएर यस्तो देखिएको पनि होइन रे । को धेरै खुशी छन् भनेर नाप्दा नेपाल संसारका १४३ देशमध्ये ९३औं र दक्षिण एशियामा चाहिँ पहिलो ।
नेपाली यति धेरै खुशी हुनुको राज के होला ? कारण थाहा पाउन अरूलाई नियाल्नै पर्दैन । पहिले आफैँलाई सम्झनुहोस् । जतिसुकै दुःख, पीर, चिन्ता, अभाव, निराशा, आक्रोश, असन्तुष्टि लगायत बेखुशी निम्त्याउने भएभरका कुरा एकैपटक थोपरिए पनि खुशी हुनका लागि एउटा सानो निहुँ नै काफी हुँदो रहेछ । बाटोमा हिँड्दाहिँड्दै पिसाबले च्याप्यो भने सडक छेउको रुखमा छेल पारेर उभिँदा क्षणभरमै आनन्द आउँछ । बसयात्रामा घण्टौं उभिएपछि बस्नका लागि बल्लबल्ल मुढा मिल्यो भने उतिखेरै राहत मिल्छ । अस्पतालमा बल्लबल्ल पर्खेर डाक्टर भेट्न पाउँदा आनन्द आउँछ । लाइनमा नबसी पेट्रोल भर्न पाउँदा के के भएजस्तो लाग्छ । निवेदन दिएको १५ दिनमै नागरिकता र पासपोर्ट हात पर्दा अनुहारमा चमक फिर्छ । मोबाइल नभेटेर चारतिर खोजिसकेपछि आफ्नै खल्तीमा फेला पर्दा मनमा शान्ति फर्किन्छ ।
आफ्नो मात्रै के कुरा, अरूलाई हेर्दा पनि सबै खुशी नै देखिन्छन् । कमाइ केही छैन भन्छन् तर बिहे, व्रतबन्ध, पास्नीमा भएभरका मान्छेलाई बोलाएर भोज खुवाउँछन् । अर्थतन्त्र डामाडोल भयो भन्छन् तर भ्रमण, भत्ता, फजुल खर्च उसैगरी गरिरहन्छन् । चिहानमा पुगिसकेका राजा फर्किन्छन् भन्ने हावादारी कुरा सुन्दा पनि खुशी फर्कने । राजा लखेटेर आफैँ राजा भैरहेकाहरूले गणतन्त्र जोगाउँछु भनेर बकम्फुसे भाषण गर्दा पनि खुशी जाग्ने ।
छिनछिनमै खुशी मिल्ने यस्ता कुरा त कति छन् कति । सबैभन्दा ठूलो कुरा प्रायः सबै नेपालीको हातहातमा मोबाइल छ । हातमा काम, साथमा दाम र थालमा माम नभए पनि मोबाइलमा सबैथोक छ । मोबाइल हेर्न थालेपछि भोक, निद्रा सबै हराउँछ । हेर्न हुने/नहुने, पढ्न मिल्ने/नमिल्ने, भन्न मिल्ने/नमिल्ने सबै कुरा मोबाइलमै मिल्छ । केही काम नभएर फुर्सदिला पनि मोबाइलमै झुम्मिन्छन् । कामैकामले बेफुर्सदिलाहरू पनि मोबाइलमै घोप्टिन्छन् । नराम्रो अनुहारलाई पनि राम्रो बनाएर त्यही मोबाइलमा देखाउन मिल्छ, नराम्रो कामलाई पनि राम्रो भनेर त्यही मोबाइलमा फलाक्न पाइन्छ । टिकटक र फेसबुक रिल्स हेर्न थाल्यो भने दुःख, पीर, व्यथा, चिन्ता उतिखेरै च्वाट्टै हुन्छ । हाँस्न बिर्सेको मान्छे हाँस्छ । नाच्नै नजान्ने मान्छे पनि नाच्छ । मोबाइल हेर्दाहेर्दै आफैँलाई हेर्न बिर्सन्छ । सुत्ने बेलामा पनि मोबाइल सिरानीमै राखेर मस्किन्छ । घरी यता कोल्टे फेरेर मुस्कुराउँछ, घरी उता कोल्टो फेरेर बर्बराउँछ । मोबाइलकै कारण मान्छे छिनछिनमा खुशीले पागल भैरहन्छ ।
त्यसो त मोबाइल नभएको जमानामा पनि मान्छे खुशी नै थिए । रुँदारुँदै हाँस्थे । झोक्राउँदा झोक्राउँदै पनि नाच्थे । उबेलै नारायण गोपालले गीत गाएका थिए, ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ ।’ उ बेला सिरानमुनि राख्ने मोबाइल नभए पनि मुटुमाथि राख्ने ढुंगा थियो । रुन मन लाग्यो भने मान्छे त्यही ढुंगो मुटुमाथि राख्थ्यो अनि हाँस्न थाल्थ्यो । बिछोडको बिरहमा मान्छेले मुटुमाथि ढुंगा राख्थ्यो । भोकको रनाहमा त्यही मुटु बस्ने पेट पटुकीले कस्थ्यो । अनि त्यही नारायण गोपालको गीत सुनेर खितखित हाँस्थ्यो । अहिले मोबाइलको जमाना छ । नारायण गोपालले गीतमा भनेको त्यो ढुंगो कस्तो होला भनेर मान्छे मोबाइलमा खोजीनिती गर्छन् । मोबाइलको जमाना नरहेको उ बेला पनि नेपाली खुशी थिए । मोबाइलको जमानामा रहेको यो बेला पनि उसैगरी खुशी छन् । खासमा हामी नेपालीलाई खुशी हुन केही पनि चाहिँदैन । भीखमंगालाई दिने सुको नभए पनि दक्षिण एशियामा सबैभन्दा खुशी नेपाली भन्ने खबर पढ्दा नै हामीलाई भरपुर खुशी मिल्छ । खुसी हुन नजानेको भए यति पढिसक्दा तपाईँको मन पनि खुस भैसक्यो होला । अझै पनि मन खुशी भएको छैन भने नारायण गोपालको गीत सुने पनि भयो, फेसबुक रिल्स र टिकटक हेरे पनि भयो !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।