दैनिक २०० लिटर दूध बेच्ने तनहुँका लेखनाथ बाँस्ताेलालाई १ ला...
चैत १२, २०८१ मंगलबार
काठमाण्डाै – पछिल्लो २० वर्षमा शिशु जन्मिँदाको लैङ्गिक अनुपातमा अत्यधिक फरक आएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणना २०७८ बाट प्राप्त नतिजाका आधारमा आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार छोरीभन्दा छोरा जन्मिने क्रम बढेको हो ।
२०५८ सालको जनगणना अनुसार शिशु जन्मिँदाको लैङ्गिक अनुपात ९९.८ रहेकोमा २०७८ सालमा ११२ पुगेको कार्यालयले जनाएको छ । तथ्याङ्कले दम्पतीमा छोराको चाहना बढेको देखाउँछ । लैङ्गिक अनुपात बढी हुनुमा लिङ्ग पहिचान गरी गर्भपतन भएको मान्न सकिन्छ । प्रकृतिको नियम अनुसार छोरा र छोरीको अनुपात बढीमा ३ अङ्कले फरक पाइन्छ । त्यसमा पनि छोरीको सङ्ख्या बढी हुन सक्छ । सात प्रदेशमध्ये सबैभन्दा बढी लैंगिक अनुपात मधेशमा ११८ र सुदूरपश्चिममा ११६ रहेको छ ।
घट्दै जन्मदर
२००९ सालतिर देखिएको कोरा जन्मदर ४५–५० बाट घटेर २०७८ सालमा प्रति हजार १४.२ पुगेको छ । कोरा जन्मदरले प्रति एक हजार जनसङ्ख्यामा वार्षिक जीवित जन्महरूको सङ्ख्या दर्शाउँछ । यसले स्वास्थ्य सेवामा भएको सुधार, परिवार नियोजन कार्यक्रमको प्रभावकारिता र आर्थिक विकासमा आएको सुधारलाई प्रतिविम्बित गरेको छ । ग्रामीण क्षेत्रको कोरा जन्मदर १५.७ छ भने शहरी क्षेत्रको १३.६ प्रतिशत छ ।
प्रदेशगत रूपमा यो सूचकको मानमा उल्लेखनीय भिन्नता देखिएको छ । कोरा जन्मदर बागमतीमा सबैभन्दा न्यून (११.५ प्रतिशत) छ भने कर्णालीमा सबैभन्दा उच्च (१८.७ प्रतिशत) छ । नेपालको सामान्य प्रजननदर ५०.२ प्रतिशत रहेको छ । जसले १५–४९ वर्ष उमेर समूहका प्रति एक हजार महिलामा जन्मदरलाई जनाउँछ । सामान्य प्रजननदर कर्णालीमा (६७.९ प्रतिशत) र मधेशमा (६०.४ प्रतिशत) उच्च रहेको छ भने बागमती प्रदेशमा (३९.२ प्रतिशत) सबैभन्दा न्यून रहेको देखिन्छ । यस तथ्याङ्कले शहरीकरण र आर्थिक आयामहरूको प्रभावलाई सङ्केत गरेको छ ।
तथ्याङ्कले औपचारिक शिक्षा नभएका महिलाहरूको औसत सन्तान सङ्ख्या २.७१ देखाएको छ जबकि स्नातक वा उच्च शिक्षा प्राप्त महिलाहरूको हकमा यो मान केवल ०.१० रहेको छ । धनी परिवारमा कम सन्तान हुने प्रवृत्ति देखिन्छ जसले आयस्तर र प्रजननदरबीचको अन्तरसम्बन्धलाई उजागर गर्छ ।
उमेर–विशिष्ट प्रजननदर
उमेर–विशिष्ट प्रजनन प्रवृत्तिहरूले सबै उमेर समूहमा भएको परिवर्तनलाई प्रतिविम्बित गरेका छन् । २०५८ देखि २०७८ सालसम्मको प्रवृत्ति हेर्दा २५–३९ वर्षका महिलाहरूमा प्रजननदरमा विशेष गिरावट आएको छ । किशोरावस्था (१५–१९ वर्ष) को प्रजननदर २०५८ मा प्रति एक हजार महिलामा ७१ थियो जुन २०७८ सालमा घटेर ४७ पुगेको छ । यस्तो गिरावटले शिक्षाको भूमिकालाई उजागर गरेको छ । प्रजनन उमेरका खासगरी २०–२४ वर्ष उमेर समूहमा रहेका महिलाहरूमा उच्चतम प्रजननदर देखिए पनि त्यो २०५८ काे प्रति हजार २०३ बाट २०७८ सालसम्ममा घटेर १४९ पुगेको छ ।
किशोरावस्था (१५–१९) का महिलाहरूको प्रजननदर पनि सोचनीय छ । विशेषगरी मधेश (८.५ जना प्रति हजार महिला) र कर्णाली (७.५ जना प्रति हजार महिला) प्रदेश जहाँ छिटो विवाहलगायत अशिक्षा वा न्यून शैक्षिक स्तरले यस्तो अवस्था सिर्जित भएको देखिन्छ ।
कुल प्रजननदर
नेपाल अहिले प्रतिस्थापन स्तरको प्रजननदर २.१ भन्दा पनि तल पुगेको स्थिति छ । सबैभन्दा उच्चतम कुल प्रजननदर मधेश (२.८५) र कर्णालीमा (२.१९) रहेको छ भने बागमती (१.३७) र गण्डकी (१.५४) न्यून प्रजननदर रहेका प्रदेश हुन् । बागमती र गण्डकी प्रदेशमा रहेको न्यून प्रजननदरका पछाडि शहरीकरणका साथसाथै विलम्बित विवाहको भूमिका रहेको छ । शहरीकरण र ढिलो विवाहको प्रवृत्तिले गर्दा काठमाण्डौ जिल्ला र बागमती प्रदेशमा पनि प्रजननदर न्यून रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।