दैनिक २०० लिटर दूध बेच्ने तनहुँका लेखनाथ बाँस्ताेलालाई १ ला...
चैत १२, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रिय जनगणना २०७८ को पाँच वटा विषयगत प्रतिवेदन सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाबाट प्राप्त नतिजाका तथ्याङ्कीय र विश्लेषणात्मक प्रतिवेदनहरू विभिन्न चरणमा प्रकाशित गर्दै आएको छ । अहिलेसम्म ३० वटाभन्दा धेरै तथ्याङ्कीय प्रतिवेदन र चार वटा विषयगत प्रतिवेदनहरू प्रकाशन भइसकेका छन् ।
आज नेपालको प्रजनन स्थिति, आन्तरिक बसाइँसराइ, नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइको अवस्था, जनसाङ्ख्यिक लाभांश र आउँदो ३० वर्षको जनसङ्ख्या प्रक्षेपण सार्वजनिक भएको हो । नेपालको पछिल्लो जनगणना २०७८ अनुसार जनसङ्ख्या दुई करोड ९२ लाख रहेको छ ।
आन्तरिक बसाइँसराइमा स्थायी आन्तरिक बसाइँसराइको दर अर्थात् नेपालभित्र आफ्नो मूलथलो छोडी बसाइँ सर्नेको अनुपात २९.२ प्रतिशत देखिएको छ । सबैभन्दा बढी स्थायी आन्तरिक बसाइँसराइ गर्ने अर्थात् मूलथलो छोड्ने जनसङ्ख्या पहाडमा देखिएको छ जहाँबाट ३२ प्रतिशत मानिस सरेको देखिएको छ । यसपछि तराईबाट २८.९ प्रतिशत र हिमाली क्षेत्रबाट १३.८ प्रतिशत जनसङ्ख्या सरेको देखिएको छ । आन्तरिक बसाइँसराइ गर्ने अत्यधिक ३७.६ प्रतिशत महिला छन् भने पुरुषको दर २०.६ प्रतिशत रहेको छ ।
देशका ७७ वटै जिल्लाको तुलनात्मक विश्लेषण गर्दा १८ वटा जिल्लाले आफ्नो जिल्लामा जन्मिएका २० प्रतिशत जनसङ्ख्या गुमाएको देखिन्छ । कुनै पनि जिल्लाबाट बाहिर बसाइँसराइ नगरेको भन्ने स्थिति छैन । बागमती प्रदेशमा बसाइँसराइ गर्नेको सङ्ख्या थपिएको तर गण्डकी र कोशी प्रदेशमा खुद बसाइँसराइ गर्नेको सङ्ख्या ऋणात्मक देखिएको छ ।
२००९ सालतिर कोरा जन्मदर ४५–५० बाट घटेर २०७८ सालमा प्रतिहजार १४.२ प्रतिशत पुगेको छ । कोरा जन्मदरले प्रति एक हजार जनसङ्ख्यामा वार्षिक जीवित जन्महरूको सङ्ख्या दर्शाउँछ । यसले स्वास्थ्य सेवामा भएको सुधार, परिवार नियोजन कार्यक्रमको प्रभावकारिता र आर्थिक विकासमा आएको सुधारलाई प्रतिविम्बित गरेको छ । ग्रामीण क्षेत्रको कोरा जन्मदर प्रति हजार १५.७ प्रतिशत छ भने शहरी क्षेत्रको १३.६ प्रतिशत छ ।
प्रदेशगत रूपमा यो सूचकको मानमा उल्लेखनीय भिन्नता देखिएको छ । कोरा जन्मदर बागमतीमा सबैभन्दा न्यून (११.५ प्रतिशत) छ भने कर्णालीमा सबैभन्दा उच्च (१८.७ प्रतिशत) छ । नेपालको सामान्य प्रजननदर ५०.२ प्रतिशत रहेको छ । जसले १५–४९ वर्ष उमेर समूहका प्रति एक हजार महिलामा जन्मदरलाई जनाउँछ । सामान्य प्रजननदर कर्णालीमा (६७.९ प्रतिशत) र मधेशमा (६०.४ प्रतिशत) उच्च रहेको छ भने बागमती प्रदेशमा (३९.२ प्रतिशत) सबैभन्दा न्यून रहेको देखिन्छ । यस तथ्याङ्कले शहरीकरण र आर्थिक आयामहरूको प्रभावलाई सङ्केत गरेको छ ।
शिशु जन्मँदाको लैङ्गिक अनुपात हेर्दा व्यक्ति र दम्पतीको छोराको चाहनालाई इङ्गित गरेको तथ्याङ्कले देखाएको छ । त्यस्तै तथ्याङ्कले औपचारिक शिक्षा नभएका महिलाहरूको औसत सन्तान सङ्ख्या २.७१ प्रतिशत देखाएको छ, जबकि स्नातक वा उच्च शिक्षा प्राप्त महिलाहरूको हकमा यो मान केवल ०.१० प्रतिशत रहेको छ । धनी परिवारमा कम सन्तान हुने प्रवृत्ति देखिन्छ जसले आयस्तर र प्रजननदरबीचको अन्तरसम्बन्धलाई उजागर गर्छ ।
यस्तै जनसाङ्ख्यिक संरचनाको मध्यम परिदृश्य अनुसार नेपालको जनसङ्ख्या अबको ३० वर्ष अर्थात् २१०८ सालमा ३ करोड ३५ लाख पुग्ने, उच्च परिदृश्यमा ३ करोड ४४ लाख र न्यून परिदृश्य अनुसार जनसङ्ख्या ३ करोड ४ लाखको दायरामा रहने प्रक्षेपण गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।