३० वर्षपछिको अनुमान : देश रेमिट्यान्समा थप निर्भर

 चैत १२, २०८१ मंगलबार १८:२७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय तथ्याङ्क कार्यालयले ३० वर्षपछि देश रेमिट्यान्समा थप निर्भर हुने अनुमान गरेको छ । जनगणना २०७८ बाट प्राप्त नतिजाका आधारमा आज सार्वजनिक प्रतिवेदनमा कार्यालयले बसाइँसराइको प्रवृत्ति झन् खराब हुने तथा देश रेमिट्यान्समा थप निर्भर हुने र श्रमशक्ति निर्यातको स्थिति झन् खराब हुने अनुमान गरेको हो ।

नेपालको आउँदो जनसाङ्ख्यिक गतिशीलता र परिदृश्यका बारेमा सरकारी निकायका पदाधिकारी, विज्ञ तथा प्राज्ञिक समुदायसँग समेत गरिएको अन्तरक्रियाका आधारमा यस्ताे सम्भाव्य परिदृश्यको परिकल्पना गरिएको छ ।

मध्यम परिदृश्य – प्रगतिउन्मुख नेपाल : औसत आशावादी प्रक्षेपण अनुसार नेपाल अहिलेकै विकासपथमा क्रमशः स्वास्थ्य सेवा, शैक्षिक स्थिति, पूर्वाधार निर्माण तथा आर्थिक अवसरको अवस्था उपलब्ध गराउँदै अगाडि बढ्नेछ । जन्मदर (प्रजनन) क्रमशः घट्दै जानेछ, जीवनप्रत्याशामा (आयु) सुधार हुनेछ र बसाइँसराइको क्रम यस्तै नै रही शहरीकरण हुँदै जानेछ । परिणामतः ग्रामीण क्षेत्रमा खाली घरहरूको सङ्ख्यामा वृद्धि हुनेछ ।

उच्चतम परिदृश्य – समृद्ध र दिगो नेपाल : तीव्र सामाजिक आर्थिक विकास, प्रविधिमा छलाङ मार्ने सम्भावना, पूर्वाधारमा तीव्र विकास, शहरीकरणमा वृद्धि र आर्थिक सम्पन्नताले महिला सशक्तीकरण, स्वास्थ्य सेवा तथा शैक्षिक स्तर वृद्धि हुँदै जन्मदरमा तीव्र कमी आउनेछ । ग्रामीण/शहरी सम्पर्क सहज हुनाले आन्तरिक बसाइँसराइमा स्थिरता आउनेछ ।

न्यून परिदृश्य – अतिकम विकसित यथावत् नेपाल : युवाको विदेश प्रवासन यथावत् रहने, कमजोर आर्थिक वृद्धि, वृद्ध जनसङ्ख्यामा क्रमिक वृद्धि आदिले जन्मदरमा अस्थिरता, आश्रित वृद्ध जनसङ्ख्यामा वृद्धि, बसाइँसराइको प्रवृत्ति झन् खराब हुने तथा देश रेमिट्यान्समा थप निर्भर हुने र श्रमशक्ति निर्यातको स्थिति झन् खराब हुनेछ ।

वैकल्पिक मध्यम परिदृश्य : बाह्य विश्वजनित झड्काको प्रभाव, जलवायु परिवर्तन, भूराजनीतिक स्थितिमा परिवर्तन, सामाजिक रूपान्तरण, उल्टो बसाइँसराइ (साविक थलोमा फर्किने अवस्था) प्रवृत्तिको प्रारम्भ, आर्थिक विविधीकरण र नवीनताले प्रभावित आर्थिक वृद्धिको अवस्था सिर्जना हुनेछ ।

प्रक्षेपणका प्रमुख नतिजा :

जनसाङ्ख्यिक संरचना : मध्यम परिदृश्य अनुसार नेपालको जनसङ्ख्या वि.सं. २०७८ को २ करोड ९२ लाखबाट वि.सं. २१०८ मा ३ करोड ३५ लाख पुग्नेछ जसको औसत वार्षिक वृद्धिदर (०.३५–०.५५%) सम्म रहनेछ । त्यस्तै उच्च परिदृश्यमा जनसङ्ख्या ३ करोड ४४ लाख र औसत वार्षिक वृद्धिदर (०.३९–०.६४%) रहनेछ । न्यून परिदृश्य अनुसार जनसङ्ख्या ३ करोड ४ लाख र औसत वार्षिक वृद्धिदर (०.२९–०.५३%) को दायरामा रहनेछ । सबै परिदृश्य अनुसार आश्रित जनसङ्ख्याको अनुपात वि.सं. २१०२ सालमा न्यूनतममा रहनेछ र त्यसपछि क्रमशः वृद्धि भई आश्रित अनुपात पूर्णरूपले बढ्ने छ । मध्यम परिदृश्य बमोजिम हरेक १०० जना काम गर्ने उमेर समूहका व्यक्तिहरूमा ४८ जना आश्रित रहनेछन् जुन अन्य परिदृश्यमा ४७.५ र न्यून परिदृश्यमा ४६.७ जना रहनेछ । सबै प्रदेशहरूमा आश्रित अनुपात घट्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीमा आश्रित अनुपात वि.सं. २१०२ सम्मै घट्नेछ र त्यसपछि सुस्त गतिले बढ्नेछ । तर मधेश, कर्णाली र सुदूरपश्चिममा आश्रित अनुपात वि.सं. २१०२ पछि पनि घट्दै जानेछ ।

प्रजनन स्थिति : सबै परिदृश्यहरूमा प्रजननदरमा कमी आउने प्रक्षेपण गरिएको छ । विशेषतः उमेर समूह अनुसारको प्रजननदरमा आउने कमीले वास्तवमा बच्चा पाउने उमेर ढिलो हुँदै जाने देखिन्छ । जन्मको समयमा हुने लैङ्गिक अनुपात ११३ बाट वि.सं. २०८८ मा ११९ मा बढ्ने देखिन्छ । त्यसपछि क्रमशः कमी आएर  १०३ बाट वि.सं. २१०८ मा १०७ मा लगभग स्थिर रहने देखिन्छ । मध्यम परिदृश्य अनुसार वि.सं. २०७८ को ५ लाख २७ हजारको जन्म सङ्ख्याबाट वि.सं. २१०८ मा ३ लाख ६८ हजारमा ओरालो लाग्दै झन्डै ३०.२ प्रतिशतले कमी आउने देखिन्छ । सबैभन्दा बढी बच्चा पाउने उमेर २५ हुने देखिन्छ । कुल प्रजननदर १.७२ रहने र बच्चा पाउने सरदर उमेर २९.२ वर्ष रहने देखिन्छ । उच्च परिदृश्य अनुसार वि.सं. २१०८ मा जन्म सङ्ख्यामा झन्डै ३१.७ प्रतिशतले कमी आउने देखिन्छ जसले १.६४ मा ओरालो लाग्ने र बच्चा पाउने औसत उमेर सन् २१०८ मा २९.१ वर्ष रहने देखिन्छ। यस्तै न्यून परिदृश्य जनसङ्ख्या वि.सं. २१०८ सम्ममा ४४.१ प्रतिशतले कमी आउने, १.५२ मा झर्ने र बच्चा पाउने औसत उमेर २९ वर्ष पुग्नेछ ।

मृत्युदर :

मृत्युको प्रवृत्ति प्रक्षेपण गरिए अनुसार सुधार हुँदै महिला पुरुष दुवैको आयु लामो हुनेछ । निःसन्देह लैङ्गिक अन्तर कायम रही पुरुषको आयु महिलाको भन्दा छोटो हुनेछ । ३ वटै परिदृश्य अनुसार मृत्युको सङ्ख्या बढ्दै जानेछ । विशेषतः ७० वर्ष नाघेका वृद्धसङ्ख्याको मध्यम परिदृश्य अनुसार वि.सं. २१०८ मा ३ लाख ६ हजारको मृत्यु हुनेछ । न्यून परिदृश्य अनुसार ३ लाख ३६ हजार र उच्च परिदृश्य अनुसार ७५ हजारको मृत्यु हुनेछ । सबै परिदृश्य अनुसार जीवनप्रत्याशा वा औसत आयु बढ्ने देखिन्छ । मध्यम परिदृश्य अनुसार वि.सं. २१०८ मा औसत आयु ७७ वर्ष पुग्नेछ । उच्च परिदृश्य अनुसार औसत आयु ७९.५ वर्ष र न्यून परिदृश्य अनुसार औसत आयु  ७४.४ वर्ष पुग्नेछ ।

मध्यम परिदृश्य अनुसार वि.सं. २१०८ मा शिशु मृत्युदर ७.३ जना प्रति हजार जीवित जन्ममा झर्ने देखिन्छ । बाल मृत्युदर (१/४ वर्ष) १.७ जना प्रति हजार बच्चामा र ५ वर्षमुनिका बच्चाहरूको मृत्युदर ८.९ (प्रति हजार जीवित जन्म) मा झर्ने देखिन्छ ।

अनुपस्थित र फर्किने जनसङ्ख्या 

जनसङ्ख्या प्रक्षेपणको अभ्यासले अनुपस्थित जनसङ्ख्या र तिनको प्रवासमा काम गर्ने समयावधि साथै फर्किने सम्भावना समेतलाई अध्ययन गरेको छ । सबै परिदृश्य अनुसार अनुपस्थित जनसङ्ख्याको अधिक अंश उमेर समूह २०–४० मा पर्दछन् र त्यसमा अत्यधिक पुरुष छन् । मध्यम परिदृश्य अनुसार वि.सं. २०७८ मा १८ लाख २० हजार अनुपस्थित जनसङ्ख्या प्रक्षेपण अवधिको मध्यमा ३४ लाख १० हजार र वि.सं. २१०८ मा २५ लाखमा झर्ने प्रक्षेपण छ । उच्च परिदृश्य अनुसार वि.सं. २०८८ मा ३१ लाख २० हजार र त्यसपछि वि.सं. २१०८ मा २० लाख ४० हजार पुग्नेछ । त्यस्तै न्यून परिदृश्य अनुसार धेरै सङ्ख्यामा प्रवासनमा जाने भई वि.सं. २०९८  मा ३९ लाख अनुपस्थित रहने र त्याे सङ्ख्या वि.सं. २१०८ सालमा ३८ लाख १० हजारमा झर्नेछ । प्रदेशगत प्रक्षेपणअनुसार कोशी र सुदूरपश्चिममा मध्यम तथा उच्च परिदृश्यमा अनुपस्थित जनसङ्ख्या क्रमशः घट्ने र न्यून परिदृश्यमा अझ बढ्ने अनुमान छ । सबै परिदृश्यमा कामको खोजी र शैक्षिक उद्देश्यका कारण पुरुषको अनुपस्थित सङ्ख्या अधिक नै रहनेछ । मध्यम परिदृश्य अनुसार फर्किने जनसङ्ख्या वि.सं. २०७८ को ९५ हजारबाट २०९८ मा २ लाख ५ हजार र त्यसपछि वि.सं. २१०८ सालमा २ लाख ३ हजार हुनेछ ।

प्रवासनमा जाने जनसङ्ख्या

जनगणनाको तथ्याङ्कले २०–४० उमेर समूहका युवा विदेश जानेमा अधिक रहेको देखिन्छ । मध्यम परिदृश्य अनुसार वि.सं. २०८८ मा प्रवासनमा जाने याे उमेर समूहको जनसङ्ख्या उच्चतम अर्थात् ६१ हजार हुने देखिन्छ र त्यसपछि वि.सं. २१०८ मा ४९ हजारमा झर्नेछ । उच्च परिदृश्य अनुसार २०८८ मा याे सङ्ख्या ६८ हजार र वि.सं. २१०८ मा ५७ हजार पुग्ने देखिन्छ । न्यून परिदृश्य अनुसार वि.सं. २१०८ मा ६९ हजार पुग्नेछ जसमा महिलाको सङ्ख्या अधिक हुनेछ ।

प्रदेशहरूबाट हुने प्रवासनको प्रक्षेपण अनुसार बागमती (२१,७६६), कोशी (७,८३८) र गण्डकी (७,०९८) अगाडि पर्ने देखिन्छ जबकि मधेश, कर्णाली र सुदूरपश्चिमबाट तुलनात्मक रूपमा कम हुनेछ ।

आप्रवासी जनसङ्ख्या

आप्रवासन अर्थात् विदेशबाट आउनेको सङ्ख्या मध्यम परिदृश्य अनुसार वि.सं. २०७८ मा ९ हजार १७४ को सङ्ख्याबाट वृद्धि भएर वि.सं. २१०८ मा १८ हजार ३५३ पुग्नेछ जसमा महिला र पुरुषको सङ्ख्या बराबर जस्तो हुनेछ र अधिकांश २०–४० उमेर समूहका हुनेछन् । उच्च परिदृश्य अनुसार वि.सं. २१०८ मा याे सङ्ख्या करिब दोब्बरले वृद्धि भएर ३६ हजार ७०७ पुग्नेछ । जबकि न्यून परिदृश्य अनुसार याे सङ्ख्या ९ हजार १७७ मा सीमित हुने देखिन्छ । प्रदेशगत मध्यम प्रक्षेपण अनुसार कोशीमा १ हजार ८९९ बाट ३ हजार ७९८ र बागमतीमा १ हजार ६४७ बाट ३ हजार २९३ पुग्नेछ । उच्च परिदृश्य अनुसार कोशीमा ७ हजार ५९७ र बागमतीमा ६ हजार ५८७ पुग्नेछ । जबकि न्यून परिदृश्य अनुसार सबै प्रदेशहरूमा नगण्य मात्रामा मात्रै वृद्धि हुने वा शून्य वृद्धि हुनेछ ।

अन्तिम अपडेट: चैत १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया