दैनिक २०० लिटर दूध बेच्ने तनहुँका लेखनाथ बाँस्ताेलालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार

 चैत १२, २०८१ मंगलबार १८:२८:५७ | रासस
unn.prixa.net

फाइल तस्वीर

तनहुँ – तनहुँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत हुनुभएको छ । उहाँले प्रोत्साहन स्वरूप १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको हो । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’ अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उहाँले गौरवान्वित महसूस गरेको प्रतिक्रिया दिनुभयो ।

५ वर्षअघिदेखि कृषि पेशामा लाग्नुभएका बाँस्तोलाले यातायात व्यवसाय छाडेर व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गर्नुभएको छ । उहाँले कोभिड–१९ का बेला लामो समयसम्म बन्दाबन्दी (लकडाउन) भएपछि गाउँ फर्किएर पशुपालन शुरू गर्नुभएको थियो ।

उहाँका फार्ममा अहिले उन्नत प्रजातिका २२ वटा जर्सी तथा होलस्टेन जातका गाई छन् । जसमध्ये १५ लैना गाईबाट दैनिक २०० लिटर दूध उत्पादन गरी मासिक ४ लाख रुपैयाँको दूध बिक्री गर्ने गरेको बाँस्तोलाले बताउनुभयो ।

गाउँकै बेलबास दुग्ध उत्पादक सहकारीमा दूध बिक्री गरेर खर्च कटाएर मासिक २ लाख रुपैयाँ बचत हुने गरेको उहाँले बताउनुभयो । बाँस्तोलाले भन्नुभयो, ‘उत्पादनमा आधारित अनुदानअन्तर्गत पुरस्कार पाएपछि पेशाप्रति गौरव महसूस भएको छ ।’

यातायात व्यवसायभन्दा गाईपालनबाट सन्तुष्टि मिलेको बाँस्तोलाको भनाइ छ । बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष केशवबहादुर रानाले उहाँ गाउँमा सबैभन्दा धेरै दूध उत्पादन गर्ने किसान भएको बताउनुभयो ।

गाईका साथै बाँस्तोलाले बाख्रापालनबाट पनि आम्दानी गर्दै आउनुभएको छ । उहाँले ५० वटा बोयर बाख्रा पाल्नुभएको छ । गाई र बाख्रा दुवै थप गरेर अहिलेको आम्दानीलाई दोब्बर पार्ने सोच बनाएको बाँस्तोलाले बताउनुभयो ।

सरकारलाई अनुदान दिने प्रक्रिया बदल्नु जरुरी रहेको किसान बाँस्तोलाको सुझाव छ । व्यवसाय गरेको कागज बनाउने, अनुदान लिने र अनुदान पाएपछि पेशा छाड्ने गरेकाले अनुदानको दुरुपयोग भएको उहाँको गुनासो छ ।

अन्तिम अपडेट: चैत १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया