तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक

 माघ ९, २०७५ बुधबार ७:७:२४ | रासस
unn.prixa.net

काठमाण्डाै – आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकले नेपाल सरकारसँगको विगतको सहमति र कानूनी आधार विपरीत नयाँ माग राखेर आन्दोलन थालेका छन् ।

उनीहरुले आफ्नो ६० वर्ष उमेरसम्म रोजगारीको सुनिश्चित हुनुपर्ने, अस्थायी शिक्षकबाट बिदा हुँदा कानूनबमोजिम पाउने उपदान (गोल्डेन ह्याण्डसेक) मा औषधि उपचारको सुविधा थपेर तत्काल उपलब्ध गराइनुपर्ने माग राखेका छन् ।

शिक्षक सेवा आयोगको आन्तरिक परीक्षामा असफल भएका र भाग नलिएका अस्थायी शिक्षकको समूह ‘अस्थायी करार शिक्षक सङ्घर्ष समिति’ ले आफूहरुको भावी रोजगारीको सुनिश्चित माग गर्दै मंगलबारदेखि भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना सुरु गरेको हो । 

नेपाल सरकारले शिक्षक समुदायसँगको सहमति कार्यान्वयनका क्रममा शिक्षा ऐन (२०२८) को आठौँ र नवौँ संशोधनको व्यवस्थाअनुसार कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक परीक्षाको मौका दिई परीक्षाफल प्रकाशन भइरहेका बेला नवगठित समितिले सो माग अघि सारेको हो ।

परीक्षामा अनुत्तीर्ण हुने वा भाग नलिनेलाई सेवा अवधिका आधारमा उपदान सुविधा दिन सरकार तयार भएपनि सङ्घर्ष समितिले आफ्नो आगामी रोजीरोटी के हुने ? उपदान सुविधामा औषधि उपचार पाउने वा नपाउने र सो रकम कहिले पाउने भन्ने प्रश्न तेस्र्याएका छन् । अस्थायी शिक्षकको यो मागमा कार्यरत करार शिक्षक पनि मिसिएका छन् ।

सङ्घर्ष समितिमा आबद्ध शिक्षक रामकृष्ण पाण्डेले आफूहरुले विभागमा ज्ञापनपत्र बुझाएको जनाउँदै माग पूरा हुने आशा व्यक्त गर्नुभयो । उहाँका अनुसार समितिमा करीब १२ हजार अस्थायी र करार शिक्षक आबद्ध छन् । विगतको सहमति र कानून संशोधनमा करार शिक्षक समावेश थिएनन् ।

गएकाे वर्षको असार ९ गतेको नेपाल सरकार, नेपाल शिक्षक महासङ्घ र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच भएको चार बुँदे सहमतिका आधारमा सबै जिल्लाबाट रिक्त शिक्षकको विवरण माग गरी शिक्षक सेवा आयोगले आन्तरिक परीक्षा शुरु गरेको हो ।

सरल प्रश्नका आधार लिइएको परीक्षामा न्यूनतम ४० अङ्क ल्याउने उत्तीर्ण भई स्थायी हुनेछन् । सहमतिबमोजिम २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्मको कूल रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ प्रतिशत खुल्लातर्फ विज्ञापन गर्ने विषयमा आन्तरिकतर्फको विज्ञापनमा पद सङ्ख्या समायोजन भएको थियो ।

त्यसबेला कूल २६ हजार १५१ रिक्त शिक्षक दरबन्दी कायम गरिएको थियो । काठमाडौँ उपत्यका बाहिर रहनुभएका विभागका महानिर्देशक बाबुराम पौडेलले रासससँग कुरा गर्दै उक्त मागका बारेमा आफूले अध्ययन गर्ने तर कानूनी प्रबन्धभन्दा बाहिर गएर सेवा सुविधा दिन नसक्ने स्पष्ट गर्नुभयो ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले विगतको सहमतिभन्दा बढी माग्नु उपयुक्त नहुने भन्दै नयाँ आन्दोलन सान्दर्भिक नहुने तर शिक्षा ऐन संशोधनअनुसार बिदा हुने शिक्षकलाई तत्काल सुविधा दिई रिक्त पद समायोजन गरी चाँडो खुल्ला परीक्षा हुनुपर्ने प्रतिक्रिया दिनुभयो ।

आयोगका प्रशासकीय प्रमुख डा तुल्सीप्रसाद थपलियाका अनुसार आन्तरिक परीक्षाको सबै तहको लिखित परीक्षाको नतिजा प्रकाशन भई अन्र्तवार्ताको क्रम आउँदो फागुन पहिलो सातासम्म पूरा हुनेछ । त्यसपछि अन्तिम नतिजा प्रकाशन हुनेछ ।

कूल २२ हजार ७६ पदमा विज्ञापन गरिएकामा दुई हजार ५०० पदमा दरखास्त नपरेपछि बाँकी हुन आउने पदमा परीक्षा लिइएको थियो । आयोगका अनुमानअनुसार परीक्षामा असफल र सामेल नभई करीब चार हजार ५०० शिक्षक बिदा हुनेछन् । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया