च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – सभामुख पदबाट राजीनामा दिनुभएका कृष्णबहादुर महराले राजीनामा पत्रमा छानबिन प्रक्रिया नसकिएसम्मका लागि भनी लेख्नुभएको भाषा संवैधानिक दृष्टिकोणबाट अनुपयुक्त रहेको टिप्पणी गरिएको छ ।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिनुभएका महराले आजैका मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिइएको उल्लेख गर्नुभएको छ ।
नेपालको संविधानको धारा ९१ उपधारा (६) मा लिखित राजीनामा दिएमा सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था छ । सभामुखले लिखित राजीनामा दिएपछि पद रिक्त हुने संवैधानिक व्यवस्था रहेको हुँदा राजीनामामा उल्लेख भएका अरु कुराले खासै अर्थ नराख्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउनुहुन्छ ।
सभामुख महराले आफूमाथि लागेको आरोपबारे सत्य, तथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा राजीनामा दिएको उससभामुखलाई सम्बोधन गरेर लेख्नुभएको पत्रमा उल्लेख छ । नेम्वाङ भन्नुहुन्छ, ‘नेकपाका कुनै पनि तहमा रहेका व्यक्तिबाट हुने अपराध, विकृति र विसङ्गतिमा दल जोडिनुहुन्न, स्वयम् व्यक्ति जिम्मेवार हुन्छ भन्नेमा हामी प्रष्ट मान्यता राख्छौँ ।’
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख महरासँग लागेको आरोपका सम्बन्धमा जानकारी लिएपछि बसेको नेकपाको सचिवालय बैठकले उहाँलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन सुझाव दिएको थियो । घटनाका बारेमा आउन सक्ने विभिन्नखाले टीकाटिप्पणीले पार्टीलाई पुग्न सक्ने असरको आकलन र घटनाको गम्भीरतालाई बुझेर सभामुख महरालाई तत्कालै तत्काल राजीनामा दिन लगाउने निर्णय भएको पार्टी स्रोतले जनाएको छ ।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सञ्चारकर्मीको जिज्ञासामा भन्नुभयो, ‘जो कसैबाट कानुन उल्लङ्घन र अपराध हुन्छ भने उसले कानुनको भागीदार बन्नुपर्छ । कानुन सबैका लागि बराबर हो ।’ घटनालाई ठिक ढङ्गबाट समयमै सम्बोधन हुन नसकेमा बढी उछालिन सक्ने आकलन सचिवालय बैठकले गरेको स्रोतको जिकिर छ ।
महराले पार्टीको निर्णयानुसार अपराह्न स्वकीय सचिव सागर केसीमार्फत उपसभामुखको सचिवालयमा राजीनामा पठाउनुभएको थियो । पीडित पक्षबाट घटनाका सम्बन्धमा सूचना दिइएपछि पुगेको घटनास्थल र प्रमाणको सुरक्षाको पाटोमा पनि आवश्यक ध्यान नपुर्याइएको भनी प्रहरीको कामको आलोचना भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेश थापाले घटनाको सूचना प्राप्त हुनासाथ संवेदनशील घटनाका रुपमा लिएर पीडितसँग तत्कालै आवश्यक जानकारीका साथै घटनास्थलको भिडियो स्केच लिइएको र पीडितसँग कानुनी परामर्श भएको जानकारी दिनुभयो ।
घटनास्थलमा प्रयोग भएका भनिएका चश्मा, रक्सीको बोतल, जुत्तालगायत वस्तु सङ्कलन गरी सुरक्षित रुपमा राखिएको उहाँले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।