चितवन मेडिकल कलेजले लिएको बढी शुल्क समायोजन गर्ने

 कात्तिक १५, २०७६ शुक्रबार १५:५६:३९ | रासस
unn.prixa.net

चितवन - चितवन मेडिकल कलेजले गएकाे शैक्षिकसत्रका एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ ।

कलेजले शुक्रबार पत्रकार सम्मेलन गरी बढी लिएको शुल्कको हिसाब गरी समायोजन गर्ने जनाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा बढी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी, अभिभावक र कलेजका बीचमा सहमति भएको थियो । त्यस क्रममा शुल्क फिर्ता वा समायोजन क-कसलाई कति गर्ने भनेर प्रतिवेदन दिन समिति गठन गरिएको थियो ।

पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले समितिले प्रतिवेदन दिएलगत्तै बढी लिइएको शुल्क सम्बन्धित विद्यार्थीको आउँदाे शुल्कमा समायोजन गरिने बताउनुभयो । उहाँका अनुसार एमबीबीएसमा एक विद्यार्थीसँग रु छ लाख र बिडीएसमा रु एक लाख २५ हजार बढी लिइएको छ । त्यसमध्येबाट त्रिवि रजिष्ट्रेशन शुल्क, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्कलगायतका शुल्कहरु कट्टा गरी समायोजन गरिनेछ ।

गएकाे वर्ष आइओएमले एमबीबीएसमा रु ४२ लाख ४५ हजार र बिडीएसमा रु १९ लाख ३२ हजार तोकेको थियो । कलेजले एमबीबीएसमा रु ६० लाखसम्म असुल गरेको विद्यार्थीको आरोप छ । कलेजले बढी लिएको सबै शुल्क समायोजन गर्ने जनाएको छ । उहाँले प्रशासनको रोहवरमा कलेजका तर्फबाट गर्नुपर्ने भनी गरिएका सबै सम्झौता कार्यान्वयन गर्न तयार भए पनि विद्यार्थीका तर्फबाट गर्नुपर्ने काम हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“विद्यार्थीले पठनपाठन सञ्चालन गराउने वातावरण नबनाउँदा एमबीबीएसलगायत अन्य सङ्कायका विद्यार्थीले कात्तिक २० गते हुने परीक्षाको फारम कात्तिक ८ गतेभित्र भरिसक्नुपर्नेमा नभरेको हुँदा सहमतिप्रति विद्यार्थी जिम्मेवार नबनेको प्रष्ट देखिन्छ ।”

त्यस अवसरमा उहाँले आगामी भर्नाका विषयमा कलेजहरुको साझा संस्था एसाेसिएशन अफ मेडिकल कलेज एण्ड डेन्टल कलेज अफ् नेपालको निर्णयअनुसार गरिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा विद्यार्थीलाई पूर्ववत रूपमा अध्ययनमा फर्कन, पढ्ने र पढाउने वातावरण सिर्जना गर्न अपिल गरिएको छ । यता विद्यार्थीहरुले भने बढी लिएको शुल्क समायोजनमा कलेज प्रशासनले आलटाल गरेको आरोप लगाउँदै आएका छन् ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया