४ महिनामा भित्रियाे ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स
मंसिर २७, २०८१ बिहिबार
आज विश्व सिमसार दिवस । ‘सिमसार र पानी’ नाराका साथ यो दिवस संसारभर मनाइँदै छ । सिमसार क्षेत्र भन्नाले बग्ने नदी खोला, तालतलैयालगायत पानी र जमिनले ओगटेको क्षेत्रलाई चिन्छौँ । ठूला–ठूला नदीहरूदेखि लिएर स–साना खोला, खोल्सा, तालतलैया, धान रोप्ने खेतहरूलाई पनि सिमसारका रूपमा मान्छौँ ।
यो स्थायी र अस्थायी हुन सक्छ भने प्राकृति र मानव निर्मित दुवै पनि हुन्छ । सजिलो रूपमा बुझ्न जहाँ पानी कहिल्यै सुक्दैनन् र जमिन लुक्दैनन् त्यस्ता ठाउँलाई सिमसार क्षेत्र भनिन्छ । रामसार महासन्धिले ४१ प्रकारका सिमसार परिभाषित गरेको छ । नेपालमा नदी, कुण्डा, ताल, जलाशय, धाप, धानखेतलगायतका सिमसार छन् । ताजा र नुनिलो पानी पाइने सिमसार क्षेत्रमध्ये नेपालमा ताजा पानीको सिमसार क्षेत्र पाइन्छ ।
सिमसार र जैविक विविधता
सिमसार क्षेत्र एकदमै महत्त्वपूर्ण पारिस्थितिकीय प्रणालीमा पर्छ । धेरै जैविक विविधता सिमसारमा आश्रित हुन्छन् । सहरमा सिमसार क्षेत्रलाई नचाहिने ठाउँ भनेर बुझ्छौँ तर सिमसार क्षेत्रमा यति धेरै जैविक विविधता आश्रित भएको हुन्छ कि साना–साना किरा फट्याङ्ग्रादेखि लिएर ठूला–ठूला प्रजाति पनि त्यहाँ रहेका हुन्छन् । सिमसार क्षेत्रमा पूर्णरूपमा आश्रित हुनेबाहेक जमिनमा बस्ने सबै जीवजन्तुको लागि नभइ हुँदैन । जलचर र थलचर दुवैका लागि सिमसार क्षेत्र नभइ नहुने कुरा हो । सिमसार क्षेत्र मानवलगायत सबै जिवजन्तुको जीवनसँग जोडिएको हुन्छ ।
सिमसार र मानव जीवन
सिमसार क्षेत्रविना मानव जीवन कल्पना पनि गर्न सक्दैनौँ । सिमसारले एउटा त हामीलाई पानी उपलब्ध गराउने भयो । पिउनदेखि हामीले उपयोग गर्ने वस्तु उत्पादनका लागि पानी नभइ हुँदैन । त्यसैले मानिसको जीवन सिमसारसँग जोडिएको हुन्छ । जलवविद्युत् लगायतको विकासका लागि पनि सिमसार आवश्यक हुन्छ । त्योसँगै बाढी नियन्त्रण, जलवायु परिवर्तनको समस्या रोक्न, प्रकृतिलाई स्वच्छ राख्न सिमसारको भूमिका हुन्छ । सरल रूपमा भन्दा हामीलाई जिउनका लागि प्रकृतिमा के खाँचो छ, त्यो पूरा गर्नका लागि सिमसारले भूमिका खेलेको हुन्छ । त्यसैले पनि सिमसारविना मानव जीवनको कल्पना गर्न सकिँदैन ।
नेपालमा सिमसार क्षेत्रको अवस्था
नेपालमा सिमसार क्षेत्रबारेमा पर्याप्त अध्ययन त भएको छैन तर जल, जमिन, जङ्गल, जीवजन्तु जस्ता सम्पदा भएको देश हो । नेपालका १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गराइ व्यवस्थापन गर्दै आइरहेको छ । नेपालको झण्ढै पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्त्वका सिमसार क्षेत्रहरू छन् । पछिल्ला अध्ययनहरूअनुसार ताल, हिमनदी, हिमताललगायत गरि आठ हजारभन्दा धेरै सिमसार क्षेत्र रहेका छन् भने सँगै स–साना सिम क्षेत्र र धानखेत पनि रहेका छन् ।
समस्यामा पर्दै सिमसार क्षेत्र
दुःखको कुरा नेपालमा साढे पाँच प्रतिशतभन्दा धेरैका दरले सिमसारको क्षेत्र घट्दै गएको देखिएको छ । सिमसार क्षेत्र घट्दै वा समस्यामा पर्दै जानुको मुख्य कारण प्रदूषण हो । हामी काठमाण्डौ उपत्यकाको उदाहरण लिन सक्छौँ– यहाँका नदी, ताल सबैजसो फोहरले भरिएका छन् । यस्तै विभिन्न नदीमा पनि प्रदूषण बढिरहेको छ । यस्तै अतिक्रमण पनि अर्को कारण हो । हामीले विकासका नाममा होस् वा बस्ती बस्ने नाममा वा खेतीपातीलगायतका काममा सिमसार क्षेत्रको अतिक्रमण गरिरहेका छौँ । यस्तै मिचाहा प्रजातिका वनस्पतिहरूका कारण पनि हाम्रो सिमसार क्षेत्र सङ्कटमा पर्दै गएको छ ।
यस्तै भूक्षय, बाढी, पहिरोलगायतका कारण पनि सिमसार क्षेत्र सङ्कटमा पर्दै गएका छन् । पानीको जथाभाबी प्रयोग तथा जमिनमुनिको पानी निकाल्ने कारण पनि सिमसार क्षेत्रहरू समस्यामा पर्दै गएका छन् । जलवायु परिवर्तन त छँदैछ, विकासका काममा विस्फोट गराउने, नदीमा माछा मार्न वा अरू प्रयोजनका लागि विस्फोट तथा विषादीको प्रयोग जस्ता कारण सिमसार क्षेत्रमा सङ्कट आइरहेको छ ।
नेपालमा भएका पहल
नेपालमा वन तथा वातारण मन्त्रालय, ऊर्जा मन्त्रालयसँगै विभिन्न कार्यालय, सङ्घ–संस्थालगायतको पहलमा विभिन्न काम भइरहेका छन् । नेपालले सन् १९८७ मा रामसार महासन्धिमा प्रवेश गरेपछि अहिले १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गरि प्राथमिकताका साथ व्यवस्थापन गर्दै आइरहेको छ ।
यस्तै राष्ट्रिय सिमसार नीति २०६९ तथा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजनामार्फत सिमसारको संरक्षण, संवर्द्धन र व्यवस्थापनको काम गर्दै आएको छ । जलस्रोत संरक्षण ऐन २०४९, स्थानीय सरकार सञ्चालन ऐन २०७४, वातावरण संरक्षण ऐन २०७६ लगायतले पनि यस क्षेत्रको सम्बोधन गरेका छन् । अहिले सिमसार क्षेत्र संरक्षणको धेरै अधिकार पालिकामा छ । पहलहरू त भएका छन् तर त्यो पर्याप्त भने छैन । महत्त्वपूर्ण तर नासिँदै गएका सिमसार क्षेत्र संरक्षणका लागि अरू प्रयास आवश्यक छ ।
विकासका काममा सिमसारका कुरा
विकासका काम नगर्ने भन्ने कुरा हुँदैन तर विकासका काम गर्दा सिमसार क्षेत्रको संरक्षणको कुरालाई बेवास्ता गर्नुहुन्न । विकासका काममा वातावरणीय प्रभाव मूल्याङ्कनको व्यवस्था यस्तै सम्पदाको संरक्षणको लागि राखिएको हो । तर त्यो अहिले व्यवहारमा राम्रोसँग लागू हुन सकेको छैन । विकासका कामले महत्त्वपूर्ण सिमसार क्षेत्रहरुमा असर गरेको कुरा हामीले देख्दै/सुन्दै आएका छौँ । हामीलाई विकास चाहिएको हुन्छ, त्यो काम भयो तर विकासको काम गर्दै गर्दा सिमसारमा पुगेको क्षतिले हामीलाई कहिलेसम्म र कति क्षति गर्छ भन्ने हामीले अनुमान गरेका छैनौँ ।
गाउँमा बाटो खन्दा पानीको मूल याद नगर्नु, सिम क्षेत्र मास्नु वा नदी, तलाउलगायतका क्षेत्रमा असर पुर्याउनुलाई अहिले सामान्य ठानिएको देखिन्छ तर यसले मानव जीवन र जैविक विविधतामा गम्भीर असर ल्याउन सक्छ । त्यसैले विकासका काममा यो कुरा प्राथामिकतामा रहनुपर्छ । यसमा पालिकाहरूले विशेष भूमिका खेल्न सक्छन् ।
सिमसार संरक्षणमा जुटाैँ
सिमसार क्षेत्र संरक्षणका लागि सरकारको मुख्य निकाय वन तथा वातावरण मन्त्रालयको ध्यान अझ बढी जानुपर्छ । संरक्षणको क्षेत्रमा लागेका संस्थाहरूको पनि उत्तिकै भूमिका हुन्छ । यस्तै अहिले सिमसार क्षेत्र संरक्षणको धेरै जिम्मेवारी पालिकाहरूमा छ, त्यसैले पालिकाहरू यसबारेमा जानकार र संवेदनशील बन्नैपर्छ । हामीले तीन सय वर्षको तुलना गर्ने हो भने ९० प्रतिशत सिमसार क्षेत्र हराइसकेको बताइन्छ । यस्तै हो भने सिमसार क्षेत्र समस्यामा पर्दै गएर जैविक विविधता अनि मानव जीवन पनि सङ्कटमा पर्न सक्छ ।
सिमसार क्षेत्र हाम्रो जग्गामा रहेको सानो सिम क्षेत्रदेखि ठूला तालतलैयाका क्षेत्रसमेत छन् । यी सबैलाई जोगाउनु आवश्यक छ । हामी सिम क्षेत्रलाई कम महत्त्वको जग्गा भन्छौँ तर हामीलाई पानीसँगै स्वच्छ वातावरण दिनका लागि यी क्षेत्र अति महत्त्वपूर्ण रहेका छन् । कतिपय जानकारीको अभावमा पनि सिमसार क्षेत्र मास्ने काम भइरहेको छ । त्यसैले सिमसारको महत्त्वबारेमा हरेक मानिसमा जानकारी पुर्याउनुपर्छ ।
विद्यालयस्तरमा पनि सिमसारबारेमा जानकारी तथा यसका संरक्षणका काम गर्न सकिन्छ । सरकार र नागरिक सबै मिलेर सिमसार क्षेत्रको संरक्षणमा पहल गर्नु आवश्यक छ ।
(विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) को फ्रेस वाटर कार्यक्रमका प्रमुख राजेश साँदसँग भोजेन्द्र बस्नेतले गरेको कुराकानीमा आधारित )
तस्बिर साैजन्य : राजेश साँद
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
साँद विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) को फ्रेस वाटर कार्यक्रमका प्रमुख हुनुहुन्छ ।