भागरथी हत्या प्रकरण : आरोपितको चौथो पटक म्याद थप

 फागुन १९, २०७७ बुधबार १९:२३:५ | रासस
unn.prixa.net

बैतडी - किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ । 

आज जिल्ला अदालत बैतडीबाट अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो ।  दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ । उनले आरोप स्वीकारी सकेका छन् ।

गएकाे माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको थियो । पक्राउ गरेसँगै दिनेशविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको हो ।  

अनुसन्धानका लागि प्रहरीले यही फागुन ५ गते पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र बुधवार चौथो पटक म्याद थपेर अनुमति मागेको हो । नाबालकको हकमा प्रहरीले हिरासतमा राखेको २१ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानुनी व्यवस्था छ ।

त्यहीअनुसार  अन्तिम तथा चौथो पटक म्याद थप भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 'अनुसन्धान अन्तिम चरणमा पुगेको भए पनि सम्पन्न हुन सकेको छैन्', उहाँले भन्नुभयो, 'एक/दुई दिनभित्रै अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाउँछौँ ।' अहिले प्रहरीले घटनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधार खोज्दै अनुसन्धान गरिरहेको छ । प्रहरीले बुझाएको प्रतिवेदनलाई सरकारी वकिलले अदालतलाई बुझाउने जनाइएको छ ।  

दिनेशको डीएनए परीक्षणका लागि काठमाण्डौ प्रयोगशालामा पठाइएको र रिपोर्ट  नआएकाले त्यसलाई पछि अनुसन्धानको प्रतिवेदनमा थप्दै जाने प्रहरीले बताएको छ । यसअघि भागरथीको पनि भेजाइनल स्वाब विधिविज्ञान प्रयोगशाला पठाइएको भए पनि रिपोर्ट भने आएको छैन ।

जिल्ला अस्पताल बैतडीमा गरिएको शव परीक्षण रिपोर्टमा भने भागरथीको बलात्कारपछि हत्या भएको उल्लेख छ ।  गएकाे माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया