काठमाण्डाै उपत्यकामा एक महिना मेलम्चीकाे पानी वितरण नहुने

 जेठ २०, २०७८ बिहीबार १९:४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा अब झन्डै एक महिना मेलम्चीको पानी वितरण नहुने भएको छ । सुरुङ पूरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण राेकिन लागेको हो । 

सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा फेरि पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार पहिले पानी झर्ने दरमा नै खाली गर्दा १५ दिन लाग्ने देखिएको छ । त्यस्तै २७ किमी सुरुङको निरीक्षणका लागि १० दिन लाग्नेछ । 

दुई वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर फेरि खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो । उहाँले भन्नुभयो, कार्यविधिमा अन्तिम काम नै सुरुङ खाली गर्ने हो, खाली गरेर समस्या नभएमा फेरि भरेपछि त्यो कार्ययोजना सफल हुन्छ । 

झन्डै तीन महिना पहिले पहिलो पटक मेलम्चीको पानी काठमाण्डाै ल्याइएको थियो । अहिले अन्य समस्या भने देखिएको छैन । 

आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी गत फागुनदेखि नै काठमाण्डाैमा आउन थालेको छ । समितिले आयोजनाअन्तर्गत २७ किमी लम्बाइको सुरुङ, ‘हेडवर्क’ र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण गरेको थियो । सुरुङ र केन्द्र सम्पन्न भइसके पनि ‘हेडवर्क’ को अन्तिम काम भइरहेको आयोजनाले जनाएको छ । सुरु भएको झन्डै दुई दशकपछि आयोजना सम्पन्न भएको हो । सरकारले समृद्ध नेपालका लागि यसलाई एक सफल आयोजनाका रूपमा लिएको छ । 

सरकारले मेलम्चीकै दोस्रो खण्डका रूपमा याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउन आवश्यक पूर्वाधारको निर्माण अघि बढाउँदैछ । अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप ३४ करोड लिटर पानी आउने गरी त्याे निर्माण अघि बढाउन लागिएको हो । सरकारले आउँदाे आवमा यस आयोजनाका लागि तीन अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेको छ ।  

अन्तिम अपडेट: भदौ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया