काठमाण्डाैका आठ पालिकामा स्थानीय पाठ्यक्रम, तीनमा बाँकी

 भदौ १६, २०७८ बुधबार १३:४८:२८ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाैका ११ पालिकामध्ये तीनले अझैसम्म स्थानीय पाठ्क्रम लागू गरेका छैनन् । संविधानले नै आधारभूत तहमा एक विषयको पाठ्यक्रम लागू गर्ने जिम्मा पालिकालाई दिएको छ । त्यसमा कुन भाषा छनोट गर्ने, कुन विषयवस्तुलाई समावेश गर्ने, कहिलेबाट पठनपाठन सुरु गर्ने भन्ने सम्पूर्ण अधिकार पालिकालाई रहे पनि काठमाण्डाैका नागार्जुन, टोखा र कीर्तिपुर नगरपालिकाले अझैसम्म लागू गर्न सकेका छैनन् । 

सुरु गर्न बाँकी रहेकामध्ये दुई पालिकाले यही शैक्षिक सत्रदेखि लागू गर्ने गरी व्यवस्था भइरहेको बताएका छन् भने कीर्तिपुर नगरपालिकाले कोरोना महामारी कम भएपछि सुरु गर्ने जनाएको छ । बाँकी अन्य आठ पालिकाले पठनपाठन गराइरहेका छन् । अहिलेसम्म लागू गरेकामध्ये धेरैले नेपाली भाषा रोजेका छन् । 

काठमाण्डाै महानगरपालिका र कीर्तिपुर नगरपालिकाले भने नेपाल भाषा छनोट गरेका छन् । त्यसमध्ये गोकर्णेश्वर नगरपालिकाले सबैभन्दा पहिले विगत तीन वर्षदेखि नै आफ्नो  पाठ्क्रम तयार गरी पठनपाठन गराइरहेकाे छ । काठमाण्डाै महानगरापलिका, चन्द्रागिरि, शङ्खरापुर, कीर्तिपुर, दक्षिणकाली, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकामा अहिले पठनपाठन भइरहेको छ ।  

नेपालको संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा देशकाे हरेक पालिकाबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक सय पूर्णाङ्कको एक विषय अध्ययन/अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । 

कामपाले गएकाे शैक्षिक सत्रदेखि नेपाल भाषामा अध्ययन गराउन सुरु गरेको हो । काठमाण्डाैका अन्य पालिकाले पुरानै शिक्षकबाट स्थानीय विषयलाई अगाडि बढाइरहँदा कामपाले आफ्नै साधन र स्रोतमा शिक्षकको दरबन्दी सिर्जना गरी विद्यालयमा पठाएको छ । 

केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो ।  

धैरैजसाेकाे पहिचान मठमन्दिर र धर्म संस्कृति

पढाउन सुरु गरिसकेका र तयारीमा रहेका सबै पालिकाका पाठ्यक्रमको मुख्य विषयवस्तु आफ्नो क्षेत्रको धर्म संस्कृति, भाषा, रहनसहन, पर्यटकको आकर्षक केन्द्र ऐतिहासिक सम्पदा र उद्यान रहेको छ । आ–आफ्नो पालिकामा रहेको ऐतिहासिक सम्पदाको पहिचान गराइ तिनको संरक्षणमा सन्ततिलाई जिम्मेवार बनाउने उद्देश्यका साथ पाठ्यक्रम लागू गरिएको शङ्खरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले जानकारी गराउनुभयो । 

चन्द्रागिरि नगरपालिकामा निजी र सामुदायिक गरी ८० विद्यालय छन् । ती सबै विद्यालयमा अहिले चन्दागिरिको पहिचान झल्कने ‘हाम्रो चन्दागिरि’ नामको पुस्तक पठनपाठन भइरहेको नगरपालिकाका मेयर घनश्याम गिरीले जानकारी गराउनुभयो । 

काठमाण्डाै महानगर र कीर्तिपुरले छाने नेपाल भाषा   

काठमाण्डाैका अन्य नौ पालिकाले नेपाली भाषालाई छनोट गरिरहँदा कामपा र कीर्तिपुर नगरपालिकाले नेपाल भाषालाई पठनपाठनको माध्यम बनाएका छन् । कामपामा त्याे विषय पठनपाठन सुरु भइसकेको छ भने पाठ्यक्रम तयार भए पनि कीर्तिपुरमा भने अहिलेसम्म सुरु गरेको छैन । कोरोना महामारी केही कम भए पनि मात्र पठनपाठन सुरु गर्ने तयारी नगरपालिकाको छ । 
कला, धर्म संस्कार र संस्कृति नै काठमाण्डाै उपत्यकाको पहिचान रहेको भन्दै कामपा र कीर्तिपुर नगरपालिकाले स्थानीय पाठ्क्रम पठनपाठनका लागि नेपाल भाषा छनोट गरेका छन् ।  
कामपाका मेयर विद्यासुन्दर शाक्य काठमाण्डाै नेवार समुदायकाे बाहुल्य रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लाका नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उद्देश्यले यस किसिमको पाठ्यक्रम तयार गरिएको बताउनुहुन्छ ।  

कामपाको पाठ्यक्रम लेखनमा सुरुदेखि सहभागी हुँदै आउनुभएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा बज्राचार्यले पाठ्यपुस्तकमा काठमाण्डाै महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, समाजलाई योगदान पुर्‍याएका व्यक्ति आदिसम्बन्धी पाठ मात्र समावेश गरिएको बताउनुहुन्छ । यी दुवै पालिकाका पाठ्यक्रममा नेवारको जनजीवन, कला, खानपान, जात्रा, पर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन गरिनेछ । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन हुनेछ, कामपा शिक्षा विभागका प्रमुख सुवेदीले भन्नुभयो, कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठनपाठन हुने व्यवस्था गरिएको छ । 

स्थानीय विषय पठनपाठनका लागि कामपामा १७२ शिक्षक नियुक्त 

यस विषय पठनपाठन गर्नका लागि कामपाले आफू मातहत रहेका सामुदायिक विद्यालयमा एक सय ७२ नयाँ शिक्षक नियुक्त गरेको छ । कामपाले आफ्नो मातहतमा रहेको सामुदायिक विद्यालयमा सेवा करारअन्तर्गत नियुक्त गरेको हो । यसरी नियुक्त गरिएको शिक्षकको हरेक एक वर्षमा समयावधि थप गर्ने व्यवस्थाअनुुसार शिक्षक राखिएको हो ।    
सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरी दुवैलाई अनिवार्य लागू गरे पनि नयाँ शिक्षक भने सामुदायिक विद्यालयमा मात्र पठाएको छ । निजीका शिक्षकलाई भने कामपाले आवश्यकताअनुसार तालिमको व्यवस्था गरिदिएको छ । 

कामपामा रहेका ९१ सामुदायिक र पाँच सय ४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरिएको हो । अहिले यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ । कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाका सामुदायिक विद्यालयमा एक हजार सात सय ९१ शिक्षक कार्यरत छन् । कामपाले यसरी नयाँ दरबन्दी नै सिर्जना गरी शिक्षक राखिरहँदा काठमाण्डाैकै धेरै पालिकाले भने आफूसँग साधन स्रोतको कमी रहेकाले पुरानै शिक्षकबाट पठनपाठन गरिरहेको बताएका छन् ।  

स्थानीय पाठ्यक्रम स्थानीय सरोकारवालाहरूको सहभागिता तथा आवश्यकता र औचित्यका आधारमा तयार गरिने योजना हो । स्थानीय भन्नेबित्तिकै स्थानीय व्यक्तिको आवश्यकता, विषयवस्तु तथा निर्माणमा स्थानीय विज्ञ वा व्यक्तिको संलग्नता रहन्छ । स्थानीय पाठ्यक्रम विद्यालय, समुदायभित्र रहेका व्यक्तिको चाडपर्व, धर्म, संस्कार संस्कृति, प्राकृतिक स्रोत साधन, भूगोल, भाषा, भेषभुषा, पेसा आदिसँग सम्बन्धित रहेर निर्माण गर्नुपर्दछ । 

त्यसैगरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । स्थानीयस्तरमा लुकेर रहेका ज्ञान सीपलाई पुनः उजागर गरी आधुनिक सभ्य मानिएको विश्व समाजलाई चिनाउन तथा नेपालीको प्रत्यक्ष जीवन पद्धतिसँग जोडिएर रहेका विषयहरू अगाडि ल्याउन स्थानीय पाठ्यक्रम अति आवश्यक छ । स्थानीय पाठ्यक्रमले नेपालमा रहेका विविधतालाई चिनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्दछ ।  

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया