काठमाण्डाैमा असाेज ४ गतेदेखि भेराेसेलकाे दाेस्राे डाेज लगाइने

 असोज १, २०७८ शुक्रबार १६:३६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै जिल्लामा आउँदो सोमवार असाेज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर सोमवारदेखि तीन दिन काठमाण्डौमा भेरोसेलको दोस्रो मात्रा खोप लगाउने जानकारी दिएको हो । 

मन्त्रालयका अनुसार काठमाण्डाै महानगरपालिकाको ३२ वटै वडा, कीर्तिपुर नगरपालिकामा १० ठाउँमा र चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा खोप लगाइनेछ । यस्तै तार्केश्वर नगरपालिकाको ११ ठाउँ, नागार्जुन नगरपालिकाको १० ठाउँ, दक्षिणकाली नगरपालिकाको नाै ठाउँ, बूढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ, टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको नौ ठाउँ, शङ्करापुर नगरपालिकाको नौ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको नौ ठाउँमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने छ । 

यस्तै नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति गृह, स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ ।  

यसैबीच काठमाण्डौ उपत्यकामा ८४ प्रतिशतभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । उपत्यकामा रहेका खोपयोग्य जनसङ्ख्यामध्ये ४० प्रतिशतले पूर्णमात्रा र ४४ दशमलव ३३ प्रतिशतले एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाण्डाै उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० जनाले पूर्ण मात्राको खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्रा खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ ।  

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया