सर्वोच्च अदालतको समस्यामा यथाशीघ्र निकास दिनेगरी पहल हुन्छ – सत्ता गठबन्धन

 कात्तिक ३०, २०७८ मंगलबार १९:२३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाँच दलीय सत्ता गठबन्धनले सर्वोच्च अदालतमा देखिएको समस्यालाई यथाशीघ्र निकास हुने गरी पहल गर्ने बताएको छ । 

गठबन्धनमा आबद्ध दलहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्यामा ध्यानाकर्षण भएको भन्दै यथाशीघ्र निकास दिनका लागि पहल गर्ने बताएको हो । 

बैठकले समस्या समाधानको पहलका लागि सरोकारवालाहरुलाई आह्वान पनि गरेको छ । 

समितिका संयोजक एवम् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको आह्वानमा सिंहदरबारमा बसेको बैठकले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी निकास दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। 

बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्वर्द्धनमा जोड दिएको मन्त्री कार्कीले बताउनुभयो ।

समितिले आसन्न राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अगाडि बढाउने निर्णय पनि गरेको छ । त्यसैगरी बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई राहत तथा उनीहरुको पुनर्स्थापनाका लागि प्रभावकारी रुपमा काम अघि बढाएको दाबी पनि गरिएको छ । 

समितिले पाँच दलीय गठबन्धन जनतालाई छिटो र सहज रुपमा सेवा सुविधा उपलब्ध गराउँदै विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न क्रियाशील रहेको निष्कर्ष पनि समितिले गरेको मन्त्री कार्कीले बताउनु भयो । 

समितिले गठबन्धन सरकारको निर्माणसँगै कोभिड-१९ को रोकथामका लागि खोप अभियानलाई युद्धस्तरमा अघि बढाइएको, स्थिर सरकारको निर्माणसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताहरु तथा उद्यमीहरु उत्साहित भएको पनि समितिले जनाएको छ । 

बैठकले राष्ट्रियता, लोकतन्त्रको सम्वर्द्धन, संविधानको रक्षा र सुशासनको प्रवर्द्धनलाई वर्तमान गठबन्धनले मूल मन्त्र बनाएको दाबी समेत गरेको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया