एमालेमा 'जबज' काे गफमात्रै हाँकिन्छ, फरक मत राख्नेलाई अपमान गरिन्छ : नेता नेपाल

 मंसिर १३, २०७८ सोमबार १८:२८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेबाट विद्रोह गरेको बताउनुभएको छ । 

आज सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र चितवनको कुम्भ मेला नै पर्याप्त रहेको बताउनुभएको हो । उहाँले नेकपा एमाले पार्टीभित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवाद (जबज) का गफमात्रै हाँकिएको बताउनुभयो । कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने प्रवृत्तिले नै नेकपा एमाले कम्युनिस्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रष्ट पारेको भन्दै अध्यक्ष नेपालले एमाले अधोगतितर्फ गइसकेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले कम्युनिस्ट आन्दोलनमा विद्रोह गरेका छौँ । नेकपा एमालेबाट विद्रोह गर्‍याैँ । किन विद्रोह गर्‍याैँ भन्ने व्याख्या गरिरहनुपर्दैन, चितवनको तमासा नै पर्याप्त छ । त्यहाँको कुम्भ मेला नै पर्याप्त छ, त्यहाँ फरक मत राख्ने व्यक्तिहरूमाथि अपमान भएको हामीले समाचार पाइराखेका छौँ । त्यो नै पर्याप्त छ । जनताको बहुदलीय जनवादका गफमात्रै हाँक्ने आदेशको पालन गर्ने, त्यो प्रवृत्तिले नै प्रष्ट पार्दछ कि अब त्यो नेकपा एमाले कम्युनिस्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन, त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ ।’

अध्यक्ष नेपालले नेकपा एमालेलाई विदेशीको दलालीले मात्र प्रशंसा गर्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले महाधिवेशन उद्घाटनमा एमालेको उच्च प्रशंसा गर्नु शोभनीय नभएको बताउनुभयो । उहाँले राम्रो विचारधाराको पार्टीले राम्रो कै साथ दिने र नराम्रो विचारधाराको पार्टीले नराम्रोको नै साथ दिने भन्दै एमालेको कामले पार्टी कुन दिशातर्फ गइरहेको छ भन्ने प्रष्ट देखिने बताउनुभयो । 

फरक प्रसङ्गमा नेता नेपालले अहिले वामपन्थी, लोकतान्त्रिक शक्तिहरू मिलेर पाँच दलीय गठबन्धन सरकार बनाएको तथा देश र संविधान मास्नेहरूबाट मुक्ति दिलाएको बताउनुभयो । उहाँले देशलाई प्रगतिको दिशामा अघि बढाउनका लागि नेकपा एकीकृत समाजवादी लागिपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया