चिसो बढेपछि रामेछापको हिमाली क्षेत्रका बालबालिका दिउँसै स्कुल छाड्न बाध्य

 पुष ६, २०७८ मंगलबार १९:३३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – अत्यधिक मात्रामा हिमपात र तुसारो परेर चिसो बढेसँगै रामेछापका उच्च हिमाली क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिका दिउँसै विद्यालय छाड्न बाध्य भएका छन् । 

उच्च लेकाली भूभागमा अत्यधिक मात्रामा चिसो बढेपछि त्यस क्षेत्रका विद्यालयमा पढ्दै आएका बालबालिकाको दैनिक पठनपाठन कष्टकर बनेको हो । हिमाल नजिक रहेका गुम्देल, वाम्ती, कुवुकास्थली, चुचुरे, ठोसे, रस्नालु, प्रिती, गौश्वारा, डडुवा र दोरम्बालगायतका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका चिसोका कारण बालबालिका दिउँसै विद्यालय छाड्न बाध्य भएका हुन् । 

अहिले स्थानीयवासीलाई पनि बिहान र बेलुका बाहिर निस्किन समस्या छ । चिसो भएकै कारण विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा कमी आएको महालंगुर माध्यमिक विद्यालय गुम्देलका शिक्षक टंक देवकोटाले जानकारी दिनुभयो ।  

‘गर्मी मौसममा त ठिकै हो, अहिले चिसो मौसममा तुसारो र हिउँका कारण अत्यधिक चिसो बढ्दा विद्यार्थीको सङ्ख्या घटेको छ । विद्यालय आउने विद्यार्थी पनि टिफिनपछि घर जाँदा दिउँसो साढे २ मा नै विद्यालय बन्द गर्ने गरिएको छ’, शिक्षक देवकोटाले भन्नुभयो । 

चिसो बढेसँगै विद्यार्थीहरू विद्यालय भवनभित्र बस्दा हात कामेर कलम समाउन नसक्ने र काम्न थालेपछि घाम लाग्ने खुला चौरमा पढाउने गरिएको गोकुलगंगा गाउँपालिका ३ रस्नालुमा रहेको पूर्णआधारभूत प्राथमिक विद्यालयकी शिक्षिका बालकुमारी थापाले जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, ‘चिसो बढेकाले बालबालिकाहरू भवनभित्र पस्नै मान्दैनन् । त्यसैले उनीहरूलाई बाहिर घाममा राखेर पढाउने गरेका छौँ । छोटा दिन भएकाले घाम डुब्दै जाँदा चिसो बढ्दै जाने भएकाले विद्यालय समयसम्म पढाउन समस्या भएको छ । दिउँसो चिसो बढेपछि हामीले विद्यालय समयभन्दा अगाडि नै विद्यालय बन्द गर्ने गरेका छौँ ।’ 

चिसो बढेसँगै रामेछापका विपन्न परिवारको जनजीवनमा समेत असर परेको छ । उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरबहादुर सुनुवारले चिसोबाट जोगिन कस्ता कार्यक्रम राख्न उपयुक्त हुन्छ, अध्ययन गरेर तय गरिने बताउनुभयो । 

चिसोबाट जोगिन डाक्टरहरूले काम नपरि घरबाहिर ननिस्किन, निस्किनै परे तातो र न्यानो कपडा लगाउन सुझाव दिएका छन् । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया