भेरी नदीले खतराकाे तह पार गर्‍याे

 असोज २१, २०७९ शुक्रबार १३:४७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – लगातारकाे वर्षका कारण भेरी नदीमा पानीकाे सतह बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पार गरेको छ ।

भेरी नदीको जाजरकोटको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ । भेरी नदीमा ४ दशमलव ५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ । खतराको विन्दु भनेको पाँच मिटर हो । तर अहिले भेरी नदीको बाढीको जल स्तर खतराको तह पार गर्दै ५ दशमलव २३ मिटर पुगेको छ ।

अहिले पानी परिरहेकाले आउँदाे ६ घण्टासम्म महाशाखाले सतर्कता अपनाउन सूचना जारी गरेको छ । भेरीको किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँलगायत बस्ती जोखिममा छन् । बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित ठाउँमा जान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । स्थानीय प्रशासनले बिहीवार नै सूचना जारी गर्दै दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षयलगायतका घटना हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

भेरी नदीमा पानीकाे जल स्तर बढेपछि भेरी–बबई डाइभर्सन निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित ठाउँमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख विमल डाँगीले जानकारी दिनुभयो । नदी किनारामा रहेका निर्माण सामग्री सुरक्षित ठाउँमा लैजान थालिएको छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया