लमजुङे मतदाता भन्छन्,–‘गाउँको विकास गर्नेलाई नै मत’

 कात्तिक २५, २०७९ शुक्रबार १७:१७:३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – पञ्चायतदेखि गणतन्त्रसम्मका विभिन्न चुनावमा मतदान गरेको अनुभव छ, लमजुङ भोटेओडारकी शिवदेवी पण्डितसँग । यसपालि पनि चुनाव आएको उहाँलाई थाहा छ । तर चुनावको सरगर्मीले भने उहाँलाई छोएको छैन । 

चुनावका बेला भोट माग्न आउँदा दल, उम्मेदवार, नेता तथा कार्यकर्ताले अनेकन सपना देखाउने, आश्वासन दिने तर चुनाव जितेपछि जित्ने, हार्ने दुवैले नागरिकलाई भुल्ने गरेको उहाँ गुनासो गर्नुहुन्छ । आलु लगाउनका लागि खेत खन्न व्यस्त रहनुभएकी ७३ वर्षीया पण्डितले भन्नुभयो,–‘पञ्चायतदेखि अहिलेसम्मका चुनावमा भोट हालियो । कतिलाई जिताइयो । तर उनीहरुले जनहतिमा खासै काम गर्न सकेनन् ।’

चुनावका बेला अनेकन सपना देखाउने तर चुनाव सकिएपछि जित्ने, हार्ने दुवैले जनतालाई भुल्ने गरेकोमा उहाँले दुःखेसो पोख्नुभयो । 

‘चुनावका बेला मिठामिठा सपना बाँड्न आउने धेरै हुन्छन् । चुनावपछि जित्ने, हार्ने दुवैले जनतालाई खासै वास्ता गर्दैनन्,’ उहाँले भन्नुभयो, ‘अब दल, उम्मेदवार, नेताले त्यसो नगरुन् । जनताले दुःख पाएका छन् । गाउँठाउँको विकासका साथै दीन-दुःखीकाे हितमा काम गरुन् भन्ने चाहना छ ।’

‘हाम्रोलाई नभइ राम्रोलाई’ भोट हाल्ने सोचमा रहेको उहाँले बताउनुभयो । ‘जसले गाउँठाउँको विकास गर्न सक्छन् । जनताको दुःख बुझ्छन् । जनहितमा काम गर्छन् । तिनैलाई भोट हाल्ने हो,’ उहाँले भन्नुभयो ।

यस्तै, लमजुङ सुन्दरबजार नगरपालिका–९, का मधुकर सापकोटाले पनि पञ्चायतदेखि पछिल्ला चुनावसम्ममा धेरैलाई भोट हालेर जिताएको अनुभव छ । तर जितेर जानेले पनि जनताको हितमा खासै काम गर्न नसकेको उहाँको गुनासो छ ।

भोटेओडार कृष्ण बगैँचाको प्रतिक्षालयमा भेटिनुभएका सापकोटाले भन्नुभयो,–‘चुनावका बेला नमस्कार गर्दै आउँछन् । चुनावपछि जनतालाई भुल्छन् । त्यो बेलादेखि अहिलेसम्म भोट हाल्दै आइएको छ । तर जितेर जानेले पनि खासै काम गरेजस्तो लाग्दैन ।’ 

आफूलाई भन्दा देशलाई माया गर्ने, भ्रष्टाचार नगर्ने, जनताको भावना बुझ्ने चुनावपछि पनि नागरिकमाझ आएर उनीहरुको चाहना र आवश्यकता बुझेर काम गर्न सक्ने योग्य, सक्षम उम्मेदवारलाई भोट हालेर जिताउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

‘गाउँ–ठाउँको विकासका साथै जनताको दुःख–सुखमा साथ दिने, योग्य, सक्षम उम्मेदवारलाई मत हालेर जिताउनुपर्छ’, उहाँले भन्नुभयो ।

लमजुङ आफैँमा कृषि, पर्यटन, ऊर्जा क्षेत्रको उच्च सम्भावना बोकेको जिल्ला हो । चुनावका उम्मेदवारले यी क्षेत्रको विकासका लागि काम गर्नुपर्नेमा लमजुङवासीको एकमत छ । 

अहिले गाउँघर, टोलमा चुनाव केन्द्रित अभियानमा जुटिरहेका विभिन्न दल, उम्मेदवार, नेता कार्यकर्ता र स्वतन्त्र उम्मेदवारहरुलाई लमजुङे मतदाताले जिल्लाको समग्र विकास र समृद्धिका क्षेत्रमा दिलैदेखि लाग्न आग्रह गरिरहेका छन् । एउटा मात्रै प्रतिनिधि सभा रहेको लमजुङमा ६५ हजार २ सय ७१ महिला र ६८ हजार २ सय ८८ पुरुष गरी कुल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेका छन् ।

प्रदेशसभा ‘क’मा ६३ हजार ५ सय ७५ जना मतदाता छन् । प्रदेशसभा ‘ख’मा ६९ हजार ९ सय ८४ मतदाता रहेका छन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया