ठमेललाई सुन्दर बनाउन गुजुल्टिएका तार हटाइँदै

 पुष १३, २०७९ बुधबार १६:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यस्थितरूपमा तानिएका बिजुली, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको छ ।

ठमेल पर्यटन विकास परिषदको सक्रियता, नेपाल विद्युत् प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायककाे सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरूलाई हटाउने र व्यवस्थापन गर्ने काम अभियानकै रूपमा चलिरहेको छ ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभाबी झुन्ड्याइएका उपकरणहरूका कारण पर्यटकीय क्षेत्र ठमेल कुरुप बनेको थियो ।

प्राधिकरणले गएकाे कात्तिकमा आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो बिजुली सेवा उपलब्ध गराउन र सहरी सुन्दरतासमेत कायम राख्न दूरसञ्चार, केबल टीभी र इन्टरनेट सेवा प्रदायकलाई आफ्नो संरचना निर्माण/व्यवस्थापन गर्न ४५ दिने समयसीमा दिएको थियो । त्यहीअन्तर्गत ठमेल क्षेत्रका अव्यवस्थित तार तथा उपकरणहरू हटाउन सुरु गरिएको हो । ठमेल क्षेत्रमा लाइन सफा गर्ने सिलसिलामा ४८ ट्रक अव्यवस्थित र काम नलाग्ने तार तथा उपकरणहरू निकालिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मालगायत सम्मिलित उच्चस्तरीय टोलीले आज बुधवार ठमेल क्षेत्रमा तार व्यवस्थापनका लागि भइरहेको कामको अनुगमन गरेको छ । कार्यकारी निर्देशक घिसिङले तत्कालका लागि बिजुलीकाे नाङ्गो तारलाई  फेर्ने, बाङ्गो र मक्किएका पोलहरू हटाएर राम्रा पोलहरू राखी पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइने बताउनुभयो ।

‘अव्यवस्थित तारको गुजुल्टोका कारण सहर कुरुप बनेको छ, आगलागी भइ जनधनको क्षति भएको छ, हाम्रो सेवा प्रभाव प्रभावित भएको छ, सहरी सौन्दर्यता कायम गर्न, विद्युतीय दुर्घटनालाई न्यूनीकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरूका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको हो । मुख्य सहरी क्षेत्रको सौन्दर्यता कायम गर्न अव्यस्थित तारलाई व्यवस्थित बनाउने काम देशभरि नै सञ्चालन गरिरहेका छौँ’, घिसिङले भन्नुभयो ।

उहाँले काठमाण्डाै उपत्यका, पोखरा र भरतपुरमा विद्युतीय संरचनालाई भूमिगत बनाउने काम भइरहेको बताउनुभयो । प्राधिकरणले विभिन्न सेवा प्रदायकका राउटर, अप्टिकल फाइबर, वितरण बक्स जस्ता उपकरणहरू पोलको एउटैमात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नुपर्ने व्यवस्था गरेको छ । प्रयोगमा नरहेका तार र अन्य उपकरणहरू तत्काल हटाउनुपर्ने छ । पोलहरूमा लुप बनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरू तान्दासमेत अतिरिक्त लम्बाइका लुप बनाएर पोलमा झुन्ड्याउन नपाउने व्यवस्था गरिएको छ । सेवा प्रदायकले आफूहरूकाे तार सजिलोसँग छुट्याउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनुपर्ने छ । पोलमा जडित उपकरणहरूमा समेत मार्किङ गर्नुपर्ने छ ।  

सम्भव भएसम्म धेरै कोर भएको केबल तानी बहुसङ्ख्यक सेवा प्रदायकले सह–प्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्ने छ । तारहरूलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केबलहरू हटाउनुपर्ने छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया