बर्दिया : खसीकाे भनेर बाख्राकाे मासु बेच्न तयार पारेपछि...

 असार १०, २०८० आइतबार १५:५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – बर्दियामा खसीको मासुमा मिसावट गरेको भेटिएको छ । बर्दियाका आठ वटै पालिकाभित्रका मुख्य बजारहरूमा खसीको मासुमा मिसावट गरी बेचेको गुनासोका आधारमा अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पाइएको हो । 

ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बजारमा बाख्राको मासुलाई खसीको मासु भनी बेच्न तयार पार्दै गरेको अवस्थामा अनुगमनमा खटिएको टोलीले शेरअली कुरेसीलाई पक्राउ गरेकाे छ । टाेलीले शेरअली कुरेसी मासु पसलबाट १६ किलो मासु जफत गरेर नष्टसमेत गरेको छ । मासु पसल सञ्चालक कुरेसीलाई १० देखि २० हजार रुपैँयासम्म न्यूनतम जरिबाना हुनसक्ने सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताउनुभयो ।

बिहानै बाख्रा काटेर खसीको मासु भनेर पसलमा बेच्न लैजान तयार बनाइरहेको अवस्थामा अनुगमन टोलीले फेला पारेको हो । उनले खसीको मासु भनेर दाबी गर्दै थिए, अनुगमन टोलीले खसी हो भने खसीको अङ्गजस्तै अण्डकोष खाेइ भनेर प्रश्न गर्दा बाख्राको छालाभित्र बोसो भरेर डल्लो बनाएर देखाउन थालेपछि प्रमाण फेला परेको उद्योग वाणिज्य सङ्घ ठाकुरबाबाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले भन्नुभयो ।

यस्तै अर्का मासु पसल सञ्चालक दिनेश विकले पनि दिनेश भाई समिक्षा फ्रेस हाउसमा खसीको मासु र बाख्राको मासु आफूले बेच्ने गरेको स्वीकार गरेका छन् । विकले सरसफाइमा ध्यान नदिएको र बाख्राको मासु पनि पाइन्छ भनेर खुलस्त नपारेको, खसीको मासु र बाख्राको मासुको मूल्यसूची नटाँसेकाेले पहिलो पटकका लागि सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।

विषेशगरी चाडपर्वको समयमा खसीको मासु अत्यधिक बिक्री हुने गरेको मौकाको फाइदा उठाउँदै मिसावट हुने गरेको छ । मासु काट्नुभन्दा पहिले पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, काटेको मासु चिस्यान 'डीप फ्रिज' मा राखेर मात्र बिक्री गर्न पाइने कानुनी व्यवस्था छ । उपभोक्तालाई खसीको भन्दै बाख्रीका मासु बेच्ने मासु पसल सञ्चालकलाई कडा कारबाही हुनुपर्ने स्थानीयको माग छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया