राष्ट्र बैंकले शेयर कर्जामा लगाएको १२ करोडको सीमाका कारण शेयर बजार प्रभावित भयो : अर्थमन्त्री

 भदौ २१, २०८० बिहीबार १८:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले शेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको बताउनुभएको छ ।

आज बिहीवार बसेको प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले लगाताररूपमा शेयर बजारमा आएको गिरावटका विषयमा सरकार जानकार रहेको बताउनुभयो । अर्थमन्त्री महतले राष्ट्र बैंकले शेयर कर्जामा लगाएको १२ करोडको सीमाले शेयर बजार प्रभावित बनाएको दाबी गर्नुभयो । सरकार शेयर बजारले सहज रूप लिनुपर्छ भन्ने पक्षमा रहेको भन्दै लगानीकर्ताको लगानी डुब्न नदिने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘शेयर बजारमा गिरावट आएको छ । त्यसको विविध कारणहरू छन् । केही कारोबारमा राखिएका प्रतिबन्धले पनि शेयर बजार प्रभावित भएको छ । तथापि यसलाई सहज बनाउन सरकारको तर्फबाट र सँगै राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा हामीले संवाद गरिरहेका छौँ । शेयर कारोबारले सहज रूप लिओस् भन्ने हामी चाहन्छाैँ । लगानीकर्ताको लगानी डुब्न नपाओस् । त्यसप्रति सरकार गम्भीर छ । शेयर बजारलाई पारदर्शी बनाउने, नीतिगत र प्रक्रियागत प्रणालीगत सुधार ल्याउनेतर्फ सरकार गम्भीर छ ।’

अर्थमन्त्री महतले शेयर बजारमा सबैखाले मानिसले हैसियतअनुसार पुँजीका आधारमा लगानी गर्नसक्ने कानुनले छुट दिएको बताउनु भयो । उहाँले शेयर बजारमा शिक्षक, डाक्टर, इन्जिनियरसहित अन्य पेसा व्यवसायमा आबद्धले पनि लगानी गर्नसक्ने उल्लेख गर्नुभयो ।

अर्थमन्त्रीले शेयर बजारमा कोही पनि अनुचितरूपमा प्रवेश नगरून्, इन्साइडर ट्रेडिङ गर्न नपाऊन् र सूचना चुहाएर बजार प्रभावित बनाउन नपाऊन् भन्नेबारेमा सरकारले निगरानी गरिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया