बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति

 असोज ११, २०८० बिहीबार १३:३०:४६ | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी - म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको  चपेटामा परेको हो । 

छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा अहिले १७ जना मात्र कार्यरत रहेका अस्पतालका प्रमुख चिकित्सक डा अञ्जु थापाले बताउनुभयो ।

'विसं २०७२ मा १५ बाट ५० शय्यामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ शय्याकै दरबन्दीबाट ७८ शय्या बराबरको सेवा सञ्चालन गर्नुपरेको छ', उहाँले भन्नुभयो, 'म्याग्दीलाई दुर्गम मानेर चिकित्सक आउन नमान्ने र स्वास्थ्यकर्मी आए पनि धेरै नटिक्ने समस्या छ । कार्यरत स्वास्थ्यकर्मीमा कामको बोझ छ ।'

विसं २०७४ देखि शुरु भएको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले पूर्णता नपाउँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ । नयाँ भवन निर्माणमा भएको ढिलाइका कारण छरिएका भवनमा काम गर्दा स्वास्थ्यकर्मीलाई कार्यबोझ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । 

'जनशक्ति अभावको समस्या समाधानका लागि व्यवस्थापन समितिले गण्डकी प्रदेशमै पहिलोपटक समितिअन्तर्गत ४९ जनाको दरबन्दी सिर्जना गरेर जनशक्ति पदपूर्ति गर्न विज्ञापन गरे पनि केही पदमा आवेदन नै परेको छैन', उहाँले भन्नुभयो, 'सीमित जनशक्ति र पूर्वाधारको अधिकतम परिचालन गरेर सेवा प्रवाहलाई व्यवस्थित बनाउने प्रयासमा छौँ ।'

जनशक्ति अभावका कारण सघन उपचार कक्ष (आईसीयू) सञ्चालन हुन सकेको छैन । एक्सरे, रेडियोग्राफर र यूएसजी मेसिन चलाउने चिकित्सक खोज्दा आवेदन नै नपरेको प्रमुख डा थापाले बताउनुभयो । दैनिक दुई सयदेखि दुई सय ५० जनाले अन्तरङ्ग विभागबाट सेवा लिने अस्पतालमा चारदेखि पाँच जना मात्र चिकित्सक नियमित हुन्छन् । 

प्रसूति रोग विशेषज्ञसमेत रहेकी अस्पतालका प्रमुख थापा तालिम, बैठकमा जिल्ला बाहिर जाँदा र बिदा बसेको समयमा शल्यक्रियामार्फत् गरिने प्रसूति सेवा लिन आएकालाई बाग्लुङ र पोखरा पठाउने गरिएको छ । अस्पतालले पछिल्लो एक वर्षयता मानसिक रोग, ज्येष्ठ नागरिक, फिजियोथेरापी र अत्याधुनिक एक्सरे सेवा विस्तार गरेको छ । 

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । 

बेनी नगरपालिकाका मेयर सुरत केसीले म्याग्दीका साथै छिमेकी पर्वतको जलजला गाउँपालिकाका नागरिकले पनि सेवा लिने बेनी अस्पतालको निर्माणाधीन भवनलाई पूर्णता दिन, दरबन्दीअनुसारका जनशक्तिको व्यवस्था गरेर सेवालाई प्रभावकारी बनाउन आवश्यक देखिएको बताउनुभयो । 

'सामान्य बिरामी पर्दासमेत पोखरा, काठमाण्डाै जानुपर्ने म्याग्दीवासीको समस्याको दीर्घकालीन समाधान गर्न बेनी अस्पतालको सेवालाई विश्वसनीय र प्रभावकारी बनाउनुको विकल्प छैन', उहाँले भन्नुभयो, 'अस्पतालमा पालिकाले जनशक्तिको समेत सहयोग गरेका छौँ । प्रदेश र सङ्घीय सरकारले पनि संवेदनशील भएर दीर्घकालीन समाधानका लागि नीतिगत पहल गर्नुपर्छ ।'

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया