सङ्घ, प्रदेश र पालिकाकाे समन्वयमा उपत्यकामा तत्काल ६ हजार आइसाेलेशन बेड बनाइने

 भदौ ११, २०७७ बिहीबार २०:१९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा सङ्क्रमितको दर दिनप्रतिदिन बढ्दै गैरहेको र समुदायस्तरमै कोभिड—१९ को सङ्क्रमण फैलिन सक्ने भन्दै संघीय सरकार र स्थानीय तहले उपत्यकामा एकीकृत आइसोलेशन निर्माणलाई तीव्रता दिने भएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री एवं कोभिङ–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच आज भएको छलफल पनि स्वास्थ्य प्रोटोकललाई ध्यान दिँदै एकीकृत आइसोलेशन निर्माणमा केन्द्रित रहेको थियो । रक्षा मन्त्रालयमा भएको छलफलमा उपत्यका नगरपालिका फोरमका पदाधिकारीहरुले जारी निषेधाज्ञाको अवधिलाई पूर्ण सदुपयोग गर्दै उपत्यकाकामा तीव्र गतिका साथ एकीकृत आइसोलेशन निर्माणमा गर्नुपर्नेमा जोड दिनुभयो ।

‘बैठकमा अहिलेसम्म एकीकृत आइसोलेशन र क्वरेण्टीन निर्माणका लागि भएका प्रयास र गरेका कामका बारेमा समिक्षा भयो,’ नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाण्डाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘जारी निषेधाज्ञाको पूर्ण सदुपयोग गर्दै उपत्यकामा गुणस्तरीय एकीकृत क्वरेण्टीन र आइसोलेशन निर्माण गर्ने विषयमै केन्द्रित भएर छलफल गर्याैं ।’

उहाँले उपत्यका नगरपालिका फोरमको सुझावपछि सरकारले उपत्यकामा कम्तीमा ६ हजार एकीकृत आइसोलेशन निर्माण गर्ने निर्णय गरिसकेको भन्दै संघीय, प्रदेश र स्थानीय तहको समन्वयमा निषेधाज्ञा अवधि भित्रै आइसोलेशन निर्माण गर्ने गरी अघि बढेको जानकारी दिनुभयो ।

उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पनि उपत्यकामा एकीकृत आइसोलेशन निर्माण गर्ने विषयमै केन्द्रित भएर छलफल गरेको जानकारी दिनुभयो ।

‘गृह र स्वास्थ्य सचिवले अहिलेसम्म उपत्यकामा निर्माण भएका क्वरेण्टीनस्थल र आइसोलेशनका बारेमा जानकारी गराउनुभयो,’ श्रेष्ठले भन्नुभयो, ‘आगामी दिनमा स्थानीय तहसँग समन्वय गरेर उपत्यकामा स्वास्थ्य प्रोटोकल पालना हुने गरी आवश्यक मात्रामा एकीकृत क्वरेण्टीन स्थल र आइसोलेसन थप गर्दै जाने भन्ने सहमति भयो ।’

सरकारले क्वरेण्टीनस्थल र आइसोलेशन राख्दा प्रति व्यक्ति १ सय ७५ रुपैयाँ मात्रै खर्च गर्ने मापदण्ड बनाएको भन्दै त्यसमा थप गरी कम्तीमा पाँच सय पुर्याउन मेयर फोरमका पदाधिकारीले माग गरेको र दुवै मन्त्रि सकारात्मक रहेको श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले पनि उपत्यकामा एकीकृत क्वरेण्टीनस्थल र आइसोलेशन निर्माण गर्ने विषयमै केन्द्रित भएर छलफल गरेको जानकारी दिनुभयो ।

‘गृहसचिवको समन्वयमा एकीकृत क्वरेण्टीनस्थल निर्माणका लागि सहजिकरण गर्ने, स्वास्थ्य मन्त्रालयको तर्फबाट उपत्यकामा अस्पतालका तर्फबाट २ हजार बेड र बाँकी करिब चार हजार आइसोलेशन बेड स्थानीय तहको समन्वयमा निर्माण गर्ने विषयमा केन्द्रित रहेर छलफल भयो,’ उहाँले भन्नुभयो, ‘बाँकी ४ हजार आइसोलेशन बेड प्रदेश र स्थानीय तहहरु विभिन्न स्थानमा अहिले भएकै संरचना खोजेर निर्माण गर्ने र त्यहाँ लक्षण नदेखिएका बिरामीलाई स्थानीय तहको समन्वयमा राख्ने भन्ने भएको छ ।’

उहाँले लक्षण देखिएका बिरामीलाई स्वाथ्य मन्त्रालयले निर्माण गर्ने २ हजार बेडमा राखी छिटो उपचार गर्ने व्यवस्था मिलाउने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया