सरकारको उपलब्धि नदेख्ने, विराेध मात्रै गरिरहने ? : सत्तारुढ दलका सांसद

 चैत १८, २०७७ बुधबार १५:२४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारूढ दलका सांसदहरूले सरकारले देशकाे विकासका लागि चरणबद्ध उपलब्धिमूलक काम गरिरहेको भए पनि विरोधका लागि विरोध मात्रै गरिरहने परिपार्टी विकास भएको गुनासो गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारकाे बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दलका सांसदहरूले सरकारले गरेका अति महत्त्वपूर्ण काम नदेख्ने, विरोधका लागि मात्रै विरोध गर्ने परिपार्टी त्यागेर सरकारले गरेका राम्रा कामका पक्षमा पनि बोल्नुपर्ने बताए । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद शान्ता चौधरीले सरकारले गरेका राम्रा कामको फलस्वरूप देश कृषिमा आत्मनिर्भरतातर्फ उन्मुख, औद्योगिक ग्रामको स्थापना, सामाजिक सुरक्षा भत्ता र कोरोनाको खोपको सहज व्यवस्थापन गर्न सफल भएको भन्दै उहाँले सरकारलाई धन्यवाद दिनुभयो ।

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले भर्खरै भएकाे बडि गाउँपालिकामा घटनाको सत्य–तथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही तथा घाइतेको उपचारको व्यवस्था मिलाउन सरकारसमक्ष माग गर्नुभयो । उहाँले म्यानमारमा भइरहेको नागरिकमाथिको दमनको विरोध गर्दै घटना रोकेर लोकतन्त्र पुनर्स्थापित गर्न आग्रह गर्दै सैनिक सरकारको गतिविधि खेदजन्य भएको टिप्पणी गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङले दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको बताउँदै सर्वोच्च अदालतको पछिल्लो फैसलापछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको अवगत गराउनुभयो ।

साथै उहाँले सरकारले संसद्लाई बिजनेसविहीन बनाइरहेको आरोप लगाउँदै सरकारले संसद्लाई बिजनेसविहीन बनाउँदा थुप्रै महत्त्वपूर्ण विधेयक अड्किएर बसेको र सामान्य एजेन्डामा मात्रै संसद् बैठक सीमित भएको बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले अहिले देशभर वायु प्रदूषण बढिरहेको बताउँदै यसको समाधानमा सरकारले आवश्यक काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कोभिड–१९ को परीक्षण प्रभावकारी बनाउनुपर्ने, कोभिड व्यवस्थापनका लागि सरकारले भारतसँगको खुला सिमानामा स्वयंसेवक बनाउन टोली बनाउनुपर्ने र भारतसँग अनुदानमा लिएको कोभिड खोप सबै जिल्लामा पठाउनुपर्ने बताउनुभयो । 

बैठकमा सांसदहरू दुर्गा पौडेल, कृष्णभक्त पोखरेल, लक्ष्मी परियार, गङ्गा चौधरी सत्गौवालगायतले जनजीविकाको सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

अन्तिम अपडेट: भदौ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया