‘सर्वसाधारणलाई दुःख दिन निषेधाज्ञा गरिएकाे हाेइन, खानै नपाइने हाे कि भनेर आत्तिनु पर्दैन’

 जेठ १२, २०७८ बुधबार १८:४०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले सर्वसाधारणलाई दुःख दिने मनसायले निषेधाज्ञा नगरिएकाे बताउनुभएकाे छ । बुधवार काठमाण्डाैकाे नागढुङ्गा नाका अनुगमन गर्दै पराजुलीले कोरोना सङ्क्रमणको दर बढेको कारण निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनसाय नभएकाे बताउनुभएकाे हाे । प्रशासनले नागरिकको सहयोगको अपेक्षा गरेको पनि उहाँको भनाइ छ ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पराजुलीले अत्यावश्यकबाहेकका सवारी साधन नचलेको भन्दै निषेधाज्ञा पूर्ण रूपमा कार्यान्वयन भएको बताउनुभएको हो । उहाँले जेठ १४ गतेदेखि २० गतेसम्म काठमाण्डाैमा निषेधाज्ञालाई कडाइ गर्ने आदेश भएको सन्दर्भमा नागरिकहरू खानै नपाइने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो । बिहान–बेलुकी छाक टार्न नै समस्या पर्नेहरूका लागि काठमाण्डाै महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रबन्ध मिलाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘आपत् विपद् परे काठमाण्डाै महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालयमार्फत त्यस्ता व्यक्तिहरूलाई राहत उपलब्ध गराउने प्रबन्ध पनि मिलाएका छौँ । कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन । ठाउँ–ठाउँमा दाल, चामल उपलब्ध गराउने प्रबन्ध पनि गर्छौँ ।’

समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ सम्पर्क नम्बरमा फोन गरेर समस्या राखे समाधान गरिने पनि उहाँले बताउनुभयो । सरकारी संयन्त्र खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत बिक्री/वितरणकाे व्यवस्था मिलाउने सीडीओ पराजुलीकाे भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले कीर्तिपुरमा रहेकाे राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, राधा स्वामी सत्सङ्ग व्यास नेपाल र मनमोहन अस्पतालमा निर्माण भइरहेको आइसोलेशन केन्द्रकाे अवलोकनसमेत गर्नुभएको थियो । काठमाण्डाैमा एक हजार बेडको आइसोलेशन केन्द्र बनाउने मन्त्रिपरिषद्को निर्णयअनुसार विभिन्न ठाउँमा आइसोलेशन केन्द्र व्यवस्थापन गरेको पनि उहाँले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया