पुनर्निर्माण प्राधिकरणको ६ वर्षे कार्यकाल सकियो : केही निजी आवाससहित सम्पदाका काम बाँकी

 पुष ९, २०७८ शुक्रबार ७:५३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भूकम्पले भत्किएका भौतिक संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिएको छ ।

आजदेखि प्राधिकरणको ६ वर्षे कार्यकाल पूरा भएको हो । पुनर्निर्माण तथा पुनर्स्थापनाका बाँकी रहेका काम हस्तान्तरणसहित प्राधिकरण बिदा भएको छ । भूकम्पपछि २०७२ साल पुस १० गते प्राधिकरण स्थापना भएको थियो ।

प्राधिकरणको संस्थागत व्यवस्था भोलि शनिवारदेखि रहने छैन । ६ वर्षमा प्राधिकरणको नेतृत्व पाँच पटक हेरफेर भएको थियो । प्राधिकरणका अनुसार अहिलेसम्म निजी आवासमा ९२ प्रतिशत, पुरातात्त्विक सम्पदा तथा शैक्षिक संस्था ८५ प्रतिशत, स्वास्थ्य संस्था ८०, एकीकृत बस्ती ६० प्रतिशत सम्पन्न भएको छ ।

भूकम्पबाट झन्डै ८ लाख घर पूर्ण तथा आंशिक रुपमा क्षति भएकोमा तेश्रो किस्ता रकम वितरणका आधारमा ७ लाख ३ हजार ३ सय ७ घर पुनर्निर्माण भएका छन् । त्यस्तै विद्यालय भवनतर्फ ७ हजार ५ सय ५३ मध्ये ६ हजार ६ सय ४७ विद्यालय पुनर्निर्माण सम्पन्न भएको छ । बाँकी विद्यालय भवन पुनर्निर्माणकै चरणमा छन् । स्वास्थ्य संस्थाका भवनतर्फ ११ सय ९७ रहेकोमा ७ सय ५१ भवनकाे पुनर्निर्माण सम्पन्न भएको छ भने ३ सय ५४ भवन पुनर्निर्माणको क्रममा रहेको छ ।

सांस्कृतिक सम्पदातर्फ ९ सय २० पुनर्निर्माण लक्ष्य रहेकोमा ६ सय ६ पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ३२ सम्पदा पुनर्निर्माणका क्रममा छन् । बाँकी १ सय ८२ सम्पदाको काम सुरु हुन सकेको छैन । बाँकी काम मातहतका मन्त्रालय, विभाग तथा प्राधिकरणको दायित्व, सम्पत्ति, स्रेस्तालगायत जिम्मेवारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले ६ वर्षको समयमा हासिल गरेको उपलब्धि  र अनुभव नेपालसहित विश्वकै लागि महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया