गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुल निर्माणको काम अन्तिम चरणमा

 चैत २९, २०७८ मंगलबार १२:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तीन जिल्लाको सङ्गमस्थल रिडीको कालीगण्डकी नदीमाथि निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको हो ।

तीनमुखे पुलले गुल्मीको रुरु छेत्र गाउँपालिका–१ रिडी, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली जोड्नेछ ।

कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको पुलको स्तम्भ निर्माण भएको छ । पुलमा २५ मिटर उचाइसहितको भ्युटावर, तीन जिल्लाको तीनैतर्फ एक सय ७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । अहिले पुलको दुईतिर जाली, सोलार र भर्याङ निर्माणको काम भइरहेको छ । चार धाममध्येको एक रुरुमा तीनमुखे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

कालीगण्डकी नदीमाथि पुल निर्माणपछि पुल हेर्नकै लागि आन्तरिक पर्यटकको चहलपहल बढ्ने स्थानीय बासिन्दा विष्णु परियारले बताउनुभयो । अबको एक महिनाभित्र पुलको काम सक्ने लक्ष्य रहेको निर्माण व्यवसायी सुशान्त यादवले बताउनुभयो ।

झन्डै नौ करोड ८८ लाख लागतमा नयाँ बाटो रुविना मना जेभीले पुलको ठेक्का सम्झौता गरेको थियो । २०७१ मंसिरदेखि पुल निमार्णको काम थालिएको थियो । बर्खामा कालीगण्डकी नदीमा आउने बाढी तथा कोरोना महामारी र आर्थिक अभावले समयमै काम सक्न नसकेको निर्माण व्यवसायी यादवले बताउनुभयो ।     

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया