देशभर चुनावी रौनक : अस्वस्थ प्रतिस्पर्धा र गतिविधिले सुरक्षा चुनौती

 वैशाख २२, २०७९ बिहीबार ८:८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वैशाख ३० गते हुने पालिका चुनावका लागि दल तथा उम्मेदवारको दौडधुप बढेको छ । मतदाता रिझाउन र मत आफ्नो पक्षमा पार्न शीर्ष नेता पनि देश दौडाहमा जुटेका छन् ।

सत्ता गठबन्धनका दलसहित प्रमुख प्रतिपक्ष एमालेले देशका मुख्य ठाउँमा चुनावी सभा गर्दै आएका छन् ।

कांग्रेसले हिजोदेखि देशव्यापी चुनावी अभियान सुरु गरेको छ । आज चितवनमा हुने सभालाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा हिजो नै पुग्नुभएको छ ।

कांग्रेसले भ्रातृ सङ्घ संस्थाका अधिवेशन पालिका चुनावपछि गर्न आग्रह गरेको छ । एमालेले यसअघि नै अभियान थालेको थियो । अध्यक्ष केपी शर्मा ओलीले ठाउँठाउँमा चुनाव केन्द्रित सभालाई सम्बोधन गर्नुभएको छ ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा लगायतका दललाई पनि भ्याइनभ्याइ छ । स्वतन्त्र उम्मेदवार पनि प्रचारप्रसारमा जुटेका छन् । ६ वटा राष्ट्रियसहित निर्वाचन आयोगमा दर्ता भएका ७९ दलमध्ये ६६ दलले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

चुनावको मुख्य दिन आउन अब आठ दिन मात्रै बाँकी छ । महानगरसहित गाउँबस्ती चुनावमय बनेका छन् । आफ्ना घोषणापत्र र प्रतिबद्धतापत्रसहित उम्मेदवारले मतदातालाई आश्वस्त पार्न घरदैलो पुगेर अभियान चलाइरहेका छन् ।

मतदातासँगको भेटघाट, छलफल, सामाजिक सञ्जालको प्रयोगसँगै र्याली, जुलुस तथा सभा भइरहेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न हुने अस्वस्थ प्रतिस्पर्धा र गतिविधिले चुनावी सुरक्षा चुनौती समेत बढाएको छ । झडपका घटना बढ्न थालेका छन् ।

गृहमन्त्रालयका प्रवक्ता एवम् सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलका अनुसार पालिका चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन मिलाइएको छ । चुनावलाई धाँधलीरहित, स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन गृहसहित सम्पूर्ण निकाय लागेका उहाँको भनाइ छ ।

चुनावमा शान्ति सुरक्षा बिथोल्ने जस्ता गतिविधि हुन नदिन दल, उम्मेदवार, कार्यकर्ता र नागरिकलाई संयमित रहन पनि उहाँको आग्रह छ । यस्तै, उहाँले झडपको अवस्था आउन नदिन र कतै घटना हुनसक्ने देखिएमा वा भइहाले प्रमुख जिल्ला अधिकारी वा प्रहरीमा खबर गर्न पनि आग्रह गर्नुभएको छ । यसपालि ७ सय ५३ पालिकामा एकैपटक चुनाव हुँदैछ । एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुँदैछन् ।

सरकारले दुई हजार ९४६ अति संवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाएको छ । एक लाख ७० हजार सुरक्षाकर्मी तथा एक लाख म्यादी प्रहरी खटाइएको छ ।  

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया