आज ज्येष्ठ नागरिक दिवस : सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

 असोज १५, २०७९ शनिबार ७:४९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज अक्टोबर १ तारिख अर्थात्, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि गएको डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो । यस वर्ष ‘परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘ज्येष्ठ नागरिकको उत्थानशीलता : बदलिँदो विश्वको लागि अपरिहार्यता’ भन्ने राष्ट्रिय नाराकासाथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । नेपालको संविधान २०७२ ले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी उनीहरूलाई राज्यको तर्फबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको छ ।

नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या झण्डै ३० लाखको हाराहारीमा छ । सरकारको तर्फबाट २०५१ सालमा मासिक एक सय रुपैयाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले चार हजार रुपैयाँ पुर्याइएको छ । यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक गाडीमा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण तथा ५० प्रतिशत भाडा छुट दिने व्यवस्था गरिएको छ ।

यस्तै सार्वजनिक ठाउँमा सेवा लिँदा लाइन बस्न नपर्न र सरकारी अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्दा औषधिउपचारमा सहुलियत दिने व्यवस्था पनि छ । तर ज्येष्ठ नागरिकले कतिपय सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन् ।

ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरी ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । उहाँले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण समेत गराउनुभएको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्नेमा जोड दिनुभएको छ । शुभकामना सन्देशमार्फत् उहाँले विभिन्न ज्ञान, सिप र अनुभव सँगाल्नुभएका सम्पूर्ण ज्येष्ठ नागरिकमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ।    

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया