४ वर्ष अगाडि सुल्झिएको विषय उठाएर भ्रम छर्न खोजियो : रवि लामिछाने

 कात्तिक ३०, २०७९ बुधबार १०:३२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले ४ वर्ष अगाडि सुल्झिएको विषय उठाएर भ्रम छर्न खोजिएको दाबी गर्नुभएको छ ।

हिजो चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता भएको थियो । राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग गरिएको छ । तर लामिछानेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उजुरी पर्नु ठूलो विषय नरहेको र पत्र प्राप्त गरेपछि यसको जवाफ दिने बताउनुभएको छ ।

उहाँले भन्नुभएकाे छ, ‘४ वर्ष अगाडि नै सुल्झिएको विषय उठाएर चुनावको मुखमा फण्डा गरिएको छ तर विचलित छैन ।’ लामिछानेले सन् २०१८ मा नै अमेरिकाको पासपोर्ट छाडेर सबै प्रकृया मिलाएको दाबी गर्नुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले सोध्नुभएको छ, ‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौंडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरिकताको विषय समेतमा विवेचना भइ सेटल भसकेपछि फेरि कति पटक स्पस्टीकरण दिनु पर्ने हो ?'

उजुरीमा लामिछानेको नेपाली नागरिकता नै कायम नरहेको दाबी गरिएको छ । साथै खारेज भइसकेको पुरानो नागरिकता पेस गरेर मनोनयन दर्ता गराएको उजुरी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया