डाेटी : अदुवाभन्दा पिँडालु महँगो

 पुष ४, २०७९ सोमबार ९:१९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

डाेटी - दिपायलमा अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ ।

कमै मात्रामा उत्पादन हुने र  कम भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन , वीपी नगर र कैलालीको धनगढी र  अत्तरियालगायतका  बजारमा आकर्षक भाउमा  बिक्री भइरहेको छ ।

डोटीको बडीकेदार, जोरायल  र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । बडीकेदारका किसान  व्यावसायिक रुपमा नै अदुवा खेती छोडेर पिँडालु खेती गर्दै आएका छन् ।

पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्षयता बजारमा मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार–२ का नरबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, 'अदुवाभन्दा कम मिहिनेत लाग्ने पछिलो समय अदुवाभन्दा बढी मूल्य भएका कारण पिँडालु खेती सुरु गरेको हाैँ ।' उहाँले पिँडालु बिक्रीबाट वार्षिकरुपमा ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको पनि बताउनुभयो ।  आफूले पिँडालु खेती गरेपछि यस क्षेत्रका प्रायजसाे किसानले पिँडालु खेती गरिरहेका उहाँको भनाइ छ  ।

कुनै समय प्रतिकेजीको ९०  रुपैयाँमा बेचिने अदुवा  यतिबेला प्रतिकेजी २० रुपैयाँका दारले बिक्री गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ । स्थानीय तेज कोटकेनीले भन्नुभयो, 'अदुवाभन्दा त पिँडालुको मूल्य बढी छ, किसानले प्रतिकेजी पिँडालु ३० रुपैयाँका दरले बिक्री गरिरहेका छन्  ।  पहिले कसैले पनि खरिद नर्गने  पिँडालु महँगोमा बिक्री हुन्छ, तर सधैँभरि किसानले मिहिनेतका साथ उत्पादन गरेको अदुवा सस्तो छ ।' 

दुई रोपनीबाट सुरु गरेको पिँडालु खेतीबाट अहिले राम्रै  आम्दानी भएको बडीकेदार–४ का घनबहादुर ताडीले बताउनुभयो । उहाँले साठीदेखि ७० रोपनीमा अदुवा खेती गर्ने गर्नु भएकाे थियाे । तर बिचौलिया व्यापारीका कारण मिहिनेत गरे जति मूल्य नपाएको र भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको उहाँको भनाइ छ । यस वर्ष पिँडालु बिक्रीबाट १५ हजार रुपैयाँ बराबरको आम्दानी भएको उहाँले बताउनुभयो । 

स्थानीय सरकारले पिँडालु पकेट क्षेत्र घाेषणा गरी कार्यान्वयन गर्ने, सबै किसानलाई सहुलियतमा अनुदान दिने, बजारीकारण र  चिस्यान केन्द्रका लागि पहल गरिने उहाँले जानकारी दिनुभयो।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया