बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय प्रतिनिधि सभामा

 जेठ २३, २०८० मंगलबार १६:२४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रतिनिधि सभा बैठकमा गएकाे जेठ १४ गते बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भएकाे विषयमा प्रश्न उठाइएकाे छ । 

मङ्गलवारको आजकाे प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सत्तारुढ र विपक्षी दलका सांसदहरुले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशको सम्बन्धमा प्रश्न उठाएका हुन्। 

बैठकमा बोल्दै नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले बजेट बनाउँदा निश्चित मानिसहरु मात्रै प्रवेश गर्न पाउने प्रावधान भए पनि अनधिकृत मानिसहरुको प्रवेश भएको बताउनु भयो । उहाँले अनावश्यक मानिसहरु बाहिर, भित्र गरेर गोप्य सूचना चुहाएको बताउनु भयो । उहाँले अनधिकृत मानिसको प्रवेशबारे अर्थमन्त्रीको जवाफ माग गर्नुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले विगत केही वर्षमा भ्रष्टाचार महामारीझैँ फैलिएको बताउनु भयो । उहाँले पनि बजेट निर्माणमा अनधिकृत मानिसको प्रवेशको सम्बन्धमा अर्थमन्त्रीको जवाफ माग गर्नुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति रामकृष्ण श्रेष्ठलाई कसरी सहभागी गरियो भन्ने प्रश्न गर्नुभयो । उहाँले विद्युतीय गाडीमा लगाइने करको सम्बन्धमा सूचना चुहाइएको भन्दै यसको सम्बन्धमा पनि अर्थमन्त्रीबाट जवाफको माग गर्नुभयो । 

सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्वनासु रामकृष्ण श्रेष्ठलाई कसले किन नियुक्त गरिएको हो र नियुक्ति निरन्तरता किन दिइएको हो भनेर प्रश्न गर्नुभयो । 

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले यस सम्बन्धमा छानबिन गर्न सर्वदलीय संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बजेट निर्माणमा हरेक वर्ष बिचौलिया प्रवेशको कुरा उठ्ने र मिलापत्र हुने गरेको भन्दै आउँदा दिनमा त्यसो हुनु नहुने बताउनु भयो। उहाँले सम्पति र कारोबार अनुसारको कर हुनुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया