विराटनगरकाे गायत्री संस्कृत माविमा ४० जना मुस्लिम बालबालिका संस्कृत पढ्दै

 असार ५, २०८० मंगलबार १८:५८:५ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

माेरङ - माेरङकाे विराटनगर–७ मा रहेकाे गायत्री संस्कृत माविमा चार सय जना विद्यार्थी अध्ययनरत छन् । संस्कृत विषयको भाषा, साहित्य र योगशास्त्र अध्ययन अध्यापन हुने मोरङको यो पहिलो विद्यालयमा ४० जना मुस्लिम समुदायका बालबालिका विभिन्न कक्षामा अध्ययनरत छन् । फरक संस्कृति र परम्परा भए पनि मुस्लिम समुदायका बालबालिकामा संस्कृत अध्ययनमा माेह देखिन्छ ।

ती बालबालिका इस्लाम धर्मावलम्बी भए पनि हिन्दु धर्मको संस्कृति र परम्पराबारे जान्ने भएका छन् । स्वस्तिवाचनदेखि संस्कृतका विभिन्न मन्त्र जप्न र गायत्री मन्त्र पढ्न बालबालिका पोख्त छन् उनीहरू सजिलै संस्कृत भाषा बोल्ने गर्छन् । विराटनगर–७ हरियाली टोलका सलमान शेख त्यही विद्यालयमा कक्षा ८ मा अध्ययन गर्छन् ।  उनलाई ठूलो भएपछि आचार्य बन्ने रहर छ । संस्कृत भाषाप्रति अत्यन्तै लगाव भएको शेख बताउँछन् ।

उनी भन्छन्, 'संस्कृत सबै भाषाको जननी हो । मलाई संस्कृत भाषा सबैभन्दा सजिलो लाग्छ । संस्कृतले नैतिकता र शुद्ध आचरण सिकाउने गरेको छ ।' उनले घरमा आफ्ना बाबुआमालाई विद्यालयमा पढेको र सिकेको संस्कृत भाषा, व्याकरण र मन्त्रोच्चारण सुनाउने  गरेको बताए । 

आफरोज शेखले छोरा सलमान सानैदेखि आध्यात्मिक प्रवृत्तिको रहेको बताउनुभयो । उहाँले आफू सबै धर्मको सम्मान गर्ने व्यक्ति भएकाले छोरा सलमानलाई संस्कृत विद्यालयमै भर्ना गराएको बताउनुभयो । संस्कृतको जग छोराछोरीमा बसाल्न सकियो भने जस्तोसुकै दुःख र परिस्थितिको सामना गर्न सक्षम हुने बुबा अफरोजले बताउनु भयाे । 

कक्षा ४ मा अध्ययनरत सुहाना खातुनले संस्कृतले विद्यार्थीलाई अनुशासित बनाउने बताइन् । कक्षा ४ मै अध्ययनरत अतिसा खातुनले  पनि फरक धर्म मान्ने भए पनि संस्कृत अध्ययन गर्दा आफ्नै समुदाय र समाजले पनि प्रोत्साहन नै गरेको उल्लेख गरिन्। ठूलो भएपछि नर्स बन्ने चाहना बोकेकी  अतिसाले संस्कृत जान्ने व्यक्तिलाई कुनै पनि विषय गाह्रो नलाग्ने बताइन् । 

प्राचार्य चुडामणि नेपालले विद्यालयमा चार सय जना विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । उहाँले विद्यालयमा ४० जना मुस्लिम समुदायका र ३० जना दलित समुदायका विद्यार्थीले पनि संस्कृत भाषा अध्ययन गरिरहेका जानकारी दिनुभयाे । प्राचार्य नेपालले मुस्लिम र दलित समुदायका बालबालिकाको पछिल्लो समय संस्कृत भाषाप्रतिको रुचिमा असाध्यै वृद्धि भएको बताउनु भयाे । 

दलित समुदायकी बालिका कुमकुम मरिकले सानैदेखि छिमेकी घरको हजुरआमाले संस्कृतमा रामायण र महाभारत पाठ गरेको देखेर आफूमा पनि संस्कृत पढ्ने मोह बढेको बताइन् । उनले विद्यालयमा संस्कृत भाषा र साहित्यका साथै विभिन्न कर्मकाण्डीका मन्त्र पनि पढाइने हुँदा संस्कृत रोचक लाग्ने गरेको बताइन् । ठूलो भएपछि डाक्टर बन्ने र देशकाे सेवा गर्ने मरिकको लक्ष्य छ ।

फरक–फरक धर्म र संस्कृति मान्ने समुदायका बालबालिकाले संस्कृत पढ्ने चाहनाले देशमा धार्मिक सौहार्दताकाे  उदाहरण पेस गरेको विद्यालयका संस्कृत शिक्षक बलराम कोइरालाले बताउनुभयो । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया