एमसीसीको विरोध गर्न लगाएर हाम्राे पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भयाे : माधव नेपाल

 असोज १, २०८० सोमबार १६:१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभएकाे छ ।

आज सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताउनुभयो । गठबन्धन बनाउने काममा आफूहरूले नै भूमिका खेलेकाे भन्दै उहाँले गठबन्धन पनि आफूहरूले नै जोगाउनुपर्ने बताउनुभयो । अनुचित कुराका विरुद्धमा सङ्घर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिस्टहरूको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरूको रहेको अध्यक्ष नेपालकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आज गठबन्धनलाई धारे हात लगाएर, गठबन्धनलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि षड्यन्त्र भइरहेको छ । त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु । गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो । गठबन्धन बनाउने काममा भूमिका हामीले नै खेलेको हो । हामी कसैले तानेर गएको होइन । हामीले तानेर ल्याएको हो । यो कुराप्रति गौरवबोध गर्नुपर्छ । कमजोरी भएका छन् भने आलोचना गर्न सकिन्छ ।’

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको रूपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गर्नुभयो । उहाँले व्याख्यात्मक घोषणापछि मात्रै पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको जिकिर गर्नुभयाे । उहाँले एमसीसीको घोर विरोध गरेको कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘देशकाे स्वाधीनता, स्वाभिमान, परराष्ट्र नीतिमा असर पर्ने देखेर हामीले व्याख्यात्मक टिप्पणी भनेर त्यसको अङ्ग बनाएर एमसीसी पारित गरेका छौँ । केही पार्टीले केही थप्नु पर्दैन, संशोधन//परिमार्जन गर्नु पर्दैन, यथास्थितिमा पास गर्नुपर्छ भनेका थिए । यदि हामीले व्याख्यात्मक घोषणाको रूपमा थप्ने काम नगरेको भए एमसीसी यथास्थितिमा पास हुने थियो । नेपालको हात तल पर्ने थियो, नेपालको स्वाभिमानले नतमस्तक हुनु पर्दथ्यो ।’

अध्यक्ष नेपालले एमसीसीको विरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भएको दाबी पनि गर्नुभयाे ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया