आन्दोलनमा जाँदा पुगेको क्षतिपूर्तिका लागि बिदाका दिन पढाउँछौँ : काठमाण्डौका शिक्षक

 असोज ३, २०८० बुधबार १८:४९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले आन्दोलनमा जाँदा भएको शैक्षिक क्षतिलाई बिदाका दिन पढाएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

महानगरपालिकाले आन्दोलनका नाममा विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएपछि बसेको महानगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले अहिले आन्दोलनमा जाने र यसको घाटा बिदाका दिन पढाएर पूरा गर्ने निर्णय गरेको हो । 

प्रधानाध्यापकहरूले बैठकपछि निकालेको संयुक्त विज्ञप्तिमा आन्दोलनभर विद्यालय बन्द गरेर शिक्षकहरूले माइतीघर मण्डलामा नियमित हाजिर गर्ने उल्लेख छ ।

सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले आज बुधवारदेखि काठमाण्डाैमा प्रदर्शन शुरु गरेका हुन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा देशका विभिन्न ठाउँबाट काठमाण्डाै आएका शिक्षकले प्रदर्शन गरेका हुन् ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका अनुसार देशभर २७ हजार तीन सय ४३ वटा सामुदायिक विद्यालयमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ जना शिक्षक कार्यरत छन् । उनीहरू विद्यालयको पढाइ बन्द गर्ने गरी काठमाण्डाै आएका हुन् । शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार जना विद्यार्थीको पढाइ प्रभावित भएको छ । आज भने सार्वजनिक बिदा हो । महासङ्घले माग पूरा नभएसम्म विद्यालय बन्द गर्ने चेतावनी दिएकाले भोलि बिहीवारदेखि पढाइ प्रभावित हुने देखिएको छ ।

काठमाण्डौ महानगरपालिका लगायत केही पालिकाहरूले विद्यालय बन्द नगर्न शिक्षकहरूलाई चेतावनी दिएका छन् । शिक्षकहरुले पालिकाअन्तर्गत बस्न अस्वीकार गरेका छन् । १८ बुँदे मागमा अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायत विषय छन् ।

तस्बिर : अनिल आचार्यकाे फेसबुकबाट

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया