नवलपरासीको प्रतापुर कठहवाँमा पनि भेटियो केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति

 असोज ११, २०८० बिहीबार ७:५७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नवलपरासीको प्रतापुर गाउँपालिका–६ कठहवाँमा पनि केरामा लाग्ने पानामा रोगको नयाँ प्रजाति टीआर–४ पुष्टि भएको छ । भदौको पहिलो हप्ता पानामा रोगको प्रजाति टीआर–४ नेपालमा पहिलो पटक कैलालीको टीकापुरमा फेला परेको थियो ।

नवलपरासीको कठहवाँमा पुष्टि भएको रोग टीकापुर या अरु ठाउँबाट सरेको हो भन्ने यकिन भइसकेको छैन । केराका लागि यो रोग निकै खतरनाक मानिन्छ । यसअघि टीआर–१ मात्र फेला परेको थियो तर अहिले कैलालीको टीकापुर र नवलपरासीको प्रतापुर क्षेत्रमा यो रोग पुष्टि भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । अहिलेसम्म यो रोगको व्यवस्थापनका लागि कुनै पनि प्रविधि र रोग सहन सक्ने जात उपलब्ध नभएकाले रोगलाई थप फैलिन नदिन र अरु ठाउँका बगैँचालाई जोखिम हुन नदिन संवेदनशील बन्न विज्ञले आग्रह गर्दै आएका छन् ।

नार्क अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक रामबहादुर खड्काका अनुसार यो माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै सर्न सक्ने रोग हो । यो ढुसीका चार वटा प्रजातिमध्ये नेपालमा देखिएको टीआर–४ नयाँ हो । यसको रोकथामका लागि रोगप्रभावित क्षेत्रमा मानिस र गाडीको ओहोरदोहोर नगर्न, कृषि औजार तथा बिरुवालाई अन्त लैजान रोक लगाउन, सङ्क्रमित बगैँचालाई चारैतिरबाट घेराबार गर्न विज्ञको सल्लाह छ ।

१४ वर्षअघि भारतबाट भित्रिएको पानामाको प्रजाति–१ ले नेपालको केराखेतीमा धेरै क्षति पुर्याएको थियो । अहिले देखिएको प्रजाति–४ ले नेपालमा रहेका सबै जातका केरामा क्षति पुर्याउने भएकोले उच्च सावधानी र सतर्कता आवश्यक देखिएको छ । तर यसअघि नै रोग पुष्टि भएको कैलालीको टीकापुरमा रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम हुन सकेको छैन ।

सरकार र जिम्मेवार निकायले यो रोगलाई गम्भीरतापूर्वक चासो नदिएकाले अरु ठाउँमा पनि रोग फैलने जोखिम बढेको विज्ञले बताएका छन् ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया