कांग्रेस महामन्त्री पदको मतगणना सुरु हुँदै

 पुष १, २०७८ बिहीबार ७:५१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज बिहानदेखि सुरु हुँदैछ ।

गणना सुरु गर्नेबारे छलफलका लागि महामन्त्रीका उम्मेदवार तथा प्रतिनिधिलाई बोलाइएको पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

छलफल लगत्तै पार्टीको केन्द्रीय कार्यालय सानेपामा गणना सुरु हुनेछ । सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको समूहबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार हुनुहुन्छ ।

महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनेछन् । सभापतिमा देउवा र उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ । महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने निर्वाचन समितिका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

 यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य निर्वाचित हुने व्यवस्था छ ।

यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ । 

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया