वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले

 फागुन ७, २०७८ शनिबार १७:३४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी २०७९ साल वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ ।

आज शनिबार विमानस्थलको अनुगमन तथा निरीक्षणका लागि भैरहवा पुग्नु भएका मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई हसज हुने छ ।”

यसैगरी मन्त्री आलेले भारतसँग सिधा रुट अनुमती लिनका लागि लिमा ६२६ का विषयमा पहल भइरहेको जानकारी पनि दिनुभयो । केही महिना पहिले आफू भारत भ्रमणका गएको समयमा त्यहाँका नागरिक उड्डयनमन्त्रीसँग आफूले रुट अनुमतीका विषयमा कुरा गरेको र त्यस विषयमा नागरिक उड्डयनमन्त्री सकारात्मक देखिनु भएकाले याे समस्या चाँडै समाधान हुने मन्त्री आलेले जानकारी दिनुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए काठमाण्डौको एअर-ट्राफिकको समस्या पनि समाधान हुने बताउनुभयो ।

“भैरहवा नजिकै शान्ति दुत गौतमबुद्ध जन्मिनु भएको स्थल लुम्बीनी पनि भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए हजारौँ बुद्धिष्ट तथा लाखौँ पर्यटकहरु भित्रिन सक्ने सम्भावना छ", मन्त्री आलेले भन्नुभयाे, "त्यसका लागि यो विमानस्थल सञ्चालनमा आउनु जरुरी छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरु भए यहाँका नागरिकले विदेश यात्राका लागि काठमाण्डौ जाने समस्या पनि समाधान हुनेछ ।"

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  •  0 Reply

तपाईको प्रतिक्रिया