गौतमबुद्ध विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको अनुमति हिमालय एअरलाई दिने तयारी

 कात्तिक १६, २०७९ बुधबार १५:१५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निजी क्षेत्रको हिमालय एअरलाइन्सलाई दिने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम गरिरहेको नेपाल वायु सेवा निगमले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाउने धेरैको अनुमान थियो । तर प्राधिकरणले हिमालय एअरलाइन्सलाई जिम्मेवारी दिने अन्तिम तयारी गरेको छ । 

प्राधिकरणले त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डलिङको अनुमति दिने आश्वासन दिएको हिमालयन एअरलाइन्सले विज्ञप्ति निकालेरै जानकारी दिएको छ । नागरिक उड्डयन प्राधिकरणले भने अन्तिम निर्णय हुन बाँकी नै रहेको जनाएको छ ।

कुनै प्रतिस्पर्धा नै नगराइ ग्राउन्ड ह्यान्डलिङको अनुभवसमेत नभएको निजी कम्पनीलाई भर्खरै सञ्चालनमा आएको विमानस्थल जिम्मा लगाउनु चुनावको मुखमा चलखेलको सङ्केत भएको एक पूर्वमहानिर्देशकले शङ्का गरेका छन् । ‘नेपाल वायु सेवा निगमले त्रिभुवन विमानस्थलमा राम्रो सेवा दिइरहेको छ, उसको आम्दानीको ६० प्रतिशत हिस्सा ग्राउन्ड ह्यान्डलिङले ओगट्छ, सरकारको प्राथमिकतामा सरकारी कम्पनी नपरि निजी कम्पनी पर्नु शङ्काकै कुरा हो’, एक महानिर्देशकले भने । 

सरकारले दुई वर्षअघि नै हिमालय एअरलाइन्सलाई गौतमबुद्ध विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा दिने तयारी गरेको थियो, त्यति बेला चर्को विवाद हुँदा पछि हटेकोमा अहिले पुनः हिमालयलाई जिम्मेवारी दिने अन्तिम तयारी भएको छ ।

प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने आश्वासन दिएसँगै हिमालय एअरलाइन्सले भोलि बिहीवारदेखि भैरहवाबाट मलेसियाका लागि नियमित अन्तर्राष्ट्रिय चार्टर्ड उडान गर्दैछ । नियमित तालिकाअनुसारको उडान गर्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्कालका लागि चार्टर्ड उडान थाल्ने एअरलाइन्सले जनाएको छ ।

कमर्सियल ग्राउन्ड ह्यान्डलिङको अनुमति प्राप्त भएपछि अन्य क्षेत्रमा पनि उडान विस्तार गरिने एअरलाइन्सले जनाएको छ । हिमालय एअरलाइन्सँग अन्तर्राष्ट्रिय उडान गर्ने चार वटा जहाज रहेका छन् ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया