चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकियो

 कात्तिक १८, २०७९ शुक्रबार १२:२८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आवश्यक मतपत्र छपाइकाे काम सकिएकाे छ । चुनावका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्रकाे छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छपाउन दिएको थियो।

आयोगले केन्द्रलाई यही कात्तिक २० गतेसम्मको समयसीमा दिएकाेमा दुई दिन अगावै मतपत्र छपाइकाे काम सकिएकाे हाे । आज शुक्रवार निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले केन्द्रकाे अवलोकन गर्नुभएकाे थियाे । 

उहाँले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाइ सकिएको र नमुना मतपत्र २२ लाख गरी झन्डै ८ करोड २५ लाख मतपत्र छापिएकाे बताउनु भयाे । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त भण्डारीले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको जानकारी दिनुभयाे । अब प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने उहाँले बताउनुभयो । उहाँले मतपत्र छाप्ने काम चुनौतीपूर्ण रहे पनि सबैको सहयोगमा समयभन्दा अगाडि नै सकिएकाे बताउनु भयाे ।

उहाँले भन्नुभयो, ‘सबै पक्षबाट मतपत्र छपाइकाे काम चुनाैतीपूर्ण हाे । तर आयोगले र आयोगसँग सम्बद्ध मतपत्र छपाइको क्रममा सँगै बसेर काम गर्नुहुने सबै साथीहरुले यसलाई अवसरको रुपमा लिनुभएको छ । २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने भन्ने थियो, तर तालिकाभन्दा दुई दिन अगावै मतपत्र छपाइकाे काम सकियो । अब ढुवानी छिट्टै हुन्छ । छोटो समयमा यति धेरै मतपत्र छापिनु, गम्भीर कुरा नै हाे । तर सहज रुपमा मतपत्र छापिएको छ’ उहाँले भन्नुभयाे । 

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र छापिसकिएकाे आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार चुनावमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जसअनुसार आउँदाे चुनावका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।   

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया