भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि अख्तियार प्रतिबद्ध छ : प्रमुख आयुक्त राई

 मंसिर २३, २०७९ शुक्रबार १४:३१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहँदै आएको बताउनुभएको छ । 

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज शुक्रवार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणका लागि आएका उजुरीमाथि तथ्य प्रमाणको आधारमा प्रभावकारी अनुसन्धान एवम् अभियोजनको काम भइरहेको पनि बताउनुभयो । उहाँले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचारात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीतिलाई आयोगले अवलम्बन गरिरहेको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘भ्रष्टाचारविरुद्धको राष्ट्रिय कानुन, नीति र रणनीतिको तर्जुमा र कार्यान्वयन मूल्याङ्कनका लागि भ्रष्टाचारविरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी छ । आयोगले भ्रष्टाचारविरुद्धको कार्यको अनुसन्धान र अभियोजनलाई अझै प्रभावकारी बनाउँदै जाने क्रममा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै जाने नीति अख्तियार गरेको छ । साथै भ्रष्टाचारको दृष्टिले उच्च जोखिमयुक्त क्षेत्रको विशेष निगरानी बढाउनका साथै जोखिममा आधारित अनुसन्धान पद्धति कार्यान्वयन गर्ने गरेको छ ।’

प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको नीतिलाई व्यवहारमा उतार्ने काममा तीन वटै तहको सरकार, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया