प्रदुषण करको सदुपयोग गरेर वातावरण जोगाउनुपर्छ : राष्ट्रपति भण्डारी

 असोज २१, २०७५ आइतबार १२:१५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनालाई साकार पार्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिनु भएको छ ।  

राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो । आइतबार काठमाडौंमा आयोजित वातावरण सम्मेलनलाई सम्बोधन गर्दै उहाँले वातावरण प्रदुषण हुन नदिन र जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै लैजान तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।

राष्ट्रपति भण्डारीले वायुप्रदुषण न्यूनिकरणका लागि पेट्रोलियम पदार्थलगायतका वायु प्रदुषण गर्ने पदार्थहरुमा लगाइएको कर सदुपयोग गर्न उपयुक्त हुनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण विनाशलाई रोक्न प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले जलवायु परिवर्तनले जनजीवनमा पारेको प्रभावकारी रोक्न सरकार लागि पर्ने पनि बताउनु भयो ।

वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले विकासका कार्यबाट आर्थिक वृद्धिदर तथा जीवनयापनमा सहजता भए तापनि प्राकृतिक स्रोतको दोहन तथा प्रदूषणमा व्यापकता आई मानव जीवन कष्टपूर्ण हुन थालेपछि वातावरण संरक्षणको आवश्यकताको महसुस हुँदै गएको बताउनुभयाे । 

सम्मेलनमा ‘वायु प्रदूषण तथा न्यूनीकरण’, ‘शहरी वातारण तथा फोहर व्यवस्थापन’ र ‘वातारणीय प्रभाव मूल्याङ्कन’लगायत विषयमा छलफल हुनेछ। 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया