भारतीय प्रधानमन्त्री माेदीविरुद्धकाे अविश्वास प्रस्ताव अस्वीकृत

 साउन २५, २०८० बिहीबार २०:२:५३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएकाे अविश्वासकाे प्रस्ताव अस्वीकृत भएकाे छ । 

लाेकसभाका अध्यक्ष ओम बिरलाले आज बिहीवार सदनकाे कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेकाे अविश्वास प्रस्ताव अस्वीकृत भएकाे घाेषणा गर्नुभएकाे बीबीसी हिन्दीले जनाएकाे छ । 

यसअघि अविश्वास प्रस्तावलाई लिएर लाेकसभामा तीन दिनसम्म सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नाे विचार राखेका थिए । प्रधानमन्त्री माेदीले जवाफ दिएपछि लाेकसभाका अध्यक्षले अविश्वास प्रस्तावमाथि ध्वनि मतका आधारमा प्रस्ताव अस्वीकृत भएकाे घाेषणा गर्नुभएकाे हाे ।

आजकाे बैठकमा माेदीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षी दलहरूको चर्को आलोचना गर्दै मणिपुर राज्यमा शान्ति कायम गराएरै छाडिने बताउनुभएकाे छ । उहाँले मणिपुरमा महिलाहरूमाथि अक्षम्य अपराध भएको भन्दै दोषीलाई कडाभन्दा कडा सजाय दिलाउन केन्द्र र राज्य सरकार मिलेर काम गरिरहेको बताउनुभयाे ।

जवाफकै क्रममा माेदीले विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताउँदै सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दाबी गर्नुभयो ।

मणिपुर राज्यमा भएकाे हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरङ्कुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

यसअघि सन् २०१८ मा पनि नरेन्द्र माेदी सरकारकाे विरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएकाे थियाे । सदनमा ११ घण्टा लामाे छलफलपछि अन्ततः माेदी सरकारले सदनमा आफ्नाे बहुमत पुर्‍याएकाे थियाे ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया