‘मन्त्री भएका कारण उठ्, आइज, तँ कहाँ छस् भनेर हुन्छ र ?’

 असोज ७, २०८० आइतबार १४:५५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई अकास्मात् रूपमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोलाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएकाे छ ।

मन्त्री श्रेष्ठलाई बोलाउने समिति बैठकको कार्यसूची नभए पनि सांसदहरूले श्रेष्ठलाई बोलाउन माग गरेपछि समिति सभापतिले उहाँलाई बोलाउनुभएको थियो । मन्त्री भएकै कारण जतिखेरै आइहाल्नु भनेर बैठकमा बोलाउन नमिल्ने गृहमन्त्री श्रेष्ठकाे भनाइ छ ।

आज आइतवारकाे बैठकमा उहाँले भन्नुभयो, ‘सभापतिज्यूले मलाई तपाईँ नभइकन बैठक नै चल्न नदिने भन्नुभयो । मैले हार्दिकतापूर्वक, सदाशयता देखाएर मात्रै म आएको हो । म संसद्लाई सम्मान गर्छु । संसदीय समितिलाई सम्मान गर्छु । तर लोकतान्त्रिक मूल्य, मान्यता र प्रणाली पनि त हुँदो हो । यसो त गर्न मिल्दैन नि । कुनै पद्धति, प्रणालीमा चल्नुपर्‍याे । मन्त्री भएका कारण उठ्, आइज्, तँ कहाँ छस् भनेर हुन्छ र ?’

यसैबीच गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताउनुभएको छ । बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशङ्का व्यक्त गर्दै गृहमन्त्रीको जवाफ माग गरेपछि उहाँले सीआईबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको स्पष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘सुन तस्करी प्रकरणमा सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो सम्पूर्ण कार्यक्षमता प्रदर्शन गर्न र गहिराइमा पुग्न गृह प्रशासनको तर्फबाट मैले बारम्बार निर्देशन दिएको छु । तथ्य, प्रमाणले जे देख्नुहुन्छ त्यहाँसम्म जानुस् भनेका छौँ । अहिले पनि हामी त्यसमा दृढ छाैँ । सीआईबीले अनुसन्धान खुला पनि राखेको छ । सीआईबी वा कुनै पनि प्रहरी संरचनालाई, संयन्त्रलाई अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप गरिँदैन । बरु तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढङ्गले निष्कर्षमा पुर्‍याउन कडा निर्देशन दिएका छौँ । त्यसैअनुसार घटनाक्रम अगाडि बढ्छ ।’

गृहमन्त्रीले सर्लाही घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो । सर्लाहीको मलङ्गवा नगरपालिका–३ मा गणेशको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु युवाहरूमाथि साङ्घातिक आक्रमण  भएको थियो । त्यहाँको समस्या समाधान गर्न आफूले जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिहेको उल्लेख गर्दै आवश्यक परेमा एक/दुई दिनमै नयाँ निर्णय लिइने बताउनुभयो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया