देशका धेरै ठाउँमा पानी पर्दै, हिमपातका कारण कर्णाली र कोरला राजमार्गको केही खण्ड अवरुद्ध

 फागुन २०, २०८० आइतबार १५:५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्लामा शनिवार रातिदेखि हिमपात भएपछि आइतवार बिहानै सदरमुकाम सिमकोटलगायत आसपासका क्षेत्रमा जमेको हिउँ । तस्बिर :रासस

काठमाण्डाै – अहिले देशका सबैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकामा पनि वर्षा भइरहेको छ ।

अहिले विशेष गरेर बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ । पश्चिमी वायु सक्रिय रहेकोले पश्चिम नेपालमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परेको हो ।

आज दिउँसो देशभर नै बदली भएर सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा पनि छिटपुट पानी पर्ने सम्भावना रहेको छ । आज राति कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलिदेखि मौसम सुधार हुन थाल्नेछ ।

यसैबीच बाक्लो हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगडी सडक खण्ड अवरुद्ध भएको छ । हिमपात हुने क्रम नरोकिएकाले सडक सञ्चालन गर्न निकै कठिनाइ भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले बताउनुभयो । मौसममा सुधार आउनासाथ हिउँ हटाएर सडक खुलाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

यस्तै मुस्ताङमा पनि अत्यधिक हिमपातका कारक सडक, बिजुली र सञ्चार सम्पर्कविच्छेद भएको छ । सशस्त्र प्रहरीका अनुसार कोरला राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा कोरला नाका घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई आवतजावतमा कठिनाइ भएको छ । पर्यटक र स्थानीयवासीको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएका छन् । पाइपको पानी जमेका कारण पनि समस्या भएको छ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया