काठमाण्डौ उपत्यका छाड्ने यात्रुको चाप : टिकट पाउनै मुस्किल, सडक अस्तव्यस्त

 वैशाख १५, २०७८ बुधबार १३:१२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डाै उपत्यकामा बिहीवारदेखि १५ दिनसम्म निषेधाज्ञा लागू हुने भएपछि घर फर्कने यात्रुको सङ्ख्या बढेको छ । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गाबाट पछिल्लो २४ घण्टामा मात्रै ५० हजारभन्दा धेरै यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।  

पछिल्ला दुई, तीन दिनमा दुई लाखभन्दा धेरै यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आज झन् धेरै चाप बढेको बताउनुभयो । 

यात्रुको सङ्ख्या बढेकाले बिहानैदेखि सडक अस्तव्यस्त बनेको छ । यात्रुले टिकट पाएका छैनन् । निषेधाज्ञा लम्बिने आशङ्कामा काठमाण्डौबाट बाहिरिनेको सङ्ख्या बढेको हो । 

‘यात्रुहरू बिहानदेखि बसपार्कमा आएर बस्नु भएको छ, उहाँहरूलाई टिकट दिन सकिएको छैन । सबै अस्तव्यस्त बनेको छ’, सिटौलाले भन्नुभयो  । 

घर जान आज बिहानैदेखि काठमाण्डौको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भिड लागेको छ । काठमाण्डौमा भर्चुअल माध्यमबाट पठनपाठन सुरु भएको र सरकारले निषेधाज्ञा लगाउने निर्णय गरेपछि गाउँ घर फर्किनेको सङ्ख्या बढेको हो ।  

सोमवारदेखि नै उपत्यका छाड्नेहरूको सङ्ख्या बढेको र यो सङ्ख्या आज झन् थेगिनसक्नु भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । 

उहाँले निषेधाज्ञा लगाइहाल्ने निर्णय गरेकाले यात्रुहरूलाई सास्ती भएको गुनासो गर्नुभयो । ‘यात्रुलाई घर फर्किने समय राखेर निषेधाज्ञाको मिति तोक्नुपर्थ्यो’, उहाँले भन्नुभयो, ‘व्यवस्थापन नगरि मिति तोकिदिँदा यात्रुले सास्ती पाएका छन् भने यात्रु लैजाने गाडीको समेत अभाव भएको छ ।’

घर जाने यात्रुकाे चाप बढेसँगै काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँमा पनि ट्राफिक जाम बढेकाे छ । गाडी र माेटरसाइकलमा पेट्राेल–डिजल भर्नेकाे लाइनले भने सडकमा जाम बढेकाे छ । 

यात्रुको चाप बढ्दा काठमाण्डौ उपत्यकामा मात्रै होइन मुख्य राजमार्गमा समेत लामो जाम हुन थालेको छ । हिजो त्रिभुवन राजपथको टायल घरदेखि नागढुङ्गासम्म नै लामो जाम थियो  । बेलुका रात्रि बससँगै टिपर पनि चल्ने हुँदा चाप हुने गरेको छ । 

अहिले यो सडक खण्डमा निजी गाडीसँगै गाडी रिजर्भ गरेर गाउँ घर जानेको सङ्ख्या बढेको छ । उकालो र साँघुरो सडकका कारण यो सडक खण्डमा एउटा गाडी बिग्रिए पनि घण्टौँ जाम हुने गरेको छ । 

यस्तै, निषेधाज्ञासँगै काठमाण्डौ उपत्यकामा बजार, पसल बन्द हुने डरले बजारमा उपभोक्ताको भिड बढेको छ । आवश्यक सामान एकै ठाउँमा पाइने भएकाले पनि उपभोक्ता एकै पटक शपिङ सेन्टरमा पुगेका छन् । यात्रु र उपभोक्ताको भिडले स्वास्थ्य मापदण्ड पालनामा चुनौती थपिएको छ । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया